बुटवलमा आइसोलेसन अस्पताल सञ्चालन हुँदै
शनिबार, चैत ०८, २०७६ मा प्रकाशित

खस्यौली, चैत ८ : रुपन्देहीको बुटवलमा भिन्दै आइसोलेसन अस्पताल सञ्चालन हुने भएको छ । रामनगरस्थित औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको धागो कारखानामा आइसोलेसन अस्पताल सञ्चालन गर्न लागिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको अगुवाइमा २४ घण्टाभित्र सञ्चालनमा ल्याउने गरी १०० बेडको आइसोलेसन अस्पताल तयार हुन लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । उनले खाली अवस्थामा रहेका हलको प्रयोग गरी बेड राखेर शनिबार साँझसम्म आइसोलेसन अस्पताल सञ्चालन गर्ने बताए ।

अस्पताल सञ्चालनका लागि आवश्यक बेड यहाँका निजी अस्पतालले उपलब्ध गराउने छन् । अस्पताललाई प्राविधिक सहयोग लुम्बिनी प्रादेशिक अस्पतालले गर्ने र बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि १०० थान सुरक्षित एप्रोन काठमाडौँबाट ल्याउँदै गरिएको नगरप्रमुखले सुवेदीले जानकारी दिए ।

उपमहानगरपालिकाका अनुसार धागो कारखाना परिसरमा अहिले सरसफाइ, रंगरोगन र पूर्वाधार निर्माण शुरु भएको छ । सो स्थानमा केही शौचालय निर्माण, विद्युत् जडान तथा रंरोगनको काम भइरहेको छ । निर्माण व्यवसायी संघ रुपन्देहीको सहयोगमा धागो कारखाना परिसरमा ३० वटा अस्थायी शौचालय निर्माण हुने बताइएको छ । यसैबीच रुपन्देहीका अधिकांश स्थानीय तहले कोरोनाविरुद्ध सर्तकता अपनाउन साप्ताहिक रूपमा लाग्ने हाटबजार अनिश्चितकालीन रूपमा बन्द गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर