‘अब बाँचिने भो सरकार !’
सोमबार, चैत २४, २०७६ मा प्रकाशित

दुल्लु, चैत २४ : कोभिड –१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनपछि दैलेख बजार नजीकै गणेशथानमा बसोबास गर्दै आइरहनुभएका तारा वादीको तीन दिनसम्म चुल्हो बलेन । तारालाई आफन्तले चामल, नुन र तेल पैँचो दिए । केही दिनसम्म पैँचोबाट ताराले चार जनाको परिवार पालिन् ।

सरकारले लकडाउन थप गरेपछि अन्य वादी समुदायले ताराको जस्तै पीडा भोग्नुपर्यो । जहान परिवार पाल्न बादी समुदायले साहु महाजनबाट आफूसँग भएको पैसाले अन्न खोजेर ल्याए । त्यहीले गुजारा चलाए । ‘केटाकेटीलाई मात्र खान दिएर कहिल्यै हामी भोकै बस्याैं, हातमुख जोर्न पाइएन’, कलम वादीले पीडा सुनाए ।

शनिबार नारायण नगरपालिकाले वितरण गरेको खाद्यान्न पाउँदा तारा र कलम खुशी भए । पहिला घरमा एक छाक चामल नहुँदा रोगभन्दा भोकले मरिने चिन्ता थियो । ‘चामल पाएपछि अब त बाँचिन्छ कि भन्ने लागेको छ सरकार !’, ताराले खुशी व्यक्त गरे ।

तारा र कलम मात्र होइनन्, ती जस्तै ६५ घरपरिवार वादी समुदायमा यो समस्या हिजोसम्म ठूलो थियो । नगरको राहत वितरणपछि भने सबैको मुहारमा चमक छाएको छ । राहत वितरणपछि यो समुदाय स्थानीय सरकारको गुनगान गाउन थालेको छ ।

‘नेपाल सरकारले घरबाट बाहिर नआउनू, रोग लाग्छ भनेपछि हामीे घरमै बस्यौँ तर रोगभन्दा छिटो हाम्रो बस्तीमा भोक आयो । लकडाउनसँगै बजार बन्द हुँदा बादी समुदायले काम गर्न नपाउँदा छाक टार्न समस्या भएको थियो, अब ढुक्क भयौंँ’, कलमले बताउनुभयो, ‘बजार बन्द हुँदा कमाइ हुँदैन थियो ।

के खाने भन्ने चिन्ता लागेको थियो । हाम्रो सरकारले पीडा बुझिदियो, अब चिन्ता छैन । अब घरमै बसेर सरकारले ल्याएको लकडाउनलाई सहयोग गर्छौँ ।’

उमेरले तीन बीस कट्नुभएका धनकला वादी पनि औधि खुशी हुन्छन् । ‘अब सरकारले अन्नपानी सबै दियो । घरमै बसीबसी खानू भनेको छ, त्यही गर्नुपर्यो । सबै दिएपछि बाहिर निस्कने काम छैन’, उनले भने,‘ बन्द भएपछि बिहान खाए बेलुका के खाने, बेलुका खाए बिहान के खाने भन्ने चिन्ताले निद्रासमेत लाग्न छाडेको थियो । अब कानमा तेल हालेर सुत्छौँ, हाँस्दै धनकलाले भने ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकारले नेपालभरि लकडाउन लगाउँदा प्रत्यक्ष मारमा ज्यालामजदूरी गरेर जीविका चलाउने परिवारमा परेको पीडा खाद्यान्न वितरणबाट शान्त हुने पत्रकार भक्तबहादुर शाहीले बताए । नारायण नगरपालिका जस्तै अन्य १० स्थानीय सरकारले लगत संकलन गरी खाद्यान्न वितरण गर्दा ज्यालामजदूरी गरेर जीवनयापन गर्दै आएकालाई सुविस्ता हुने र लकडाउनको पालन हुने उनले बताए ।

लकडाउनको प्रत्यक्ष मारमा ज्यालामजदूरी गरेर खाने वादी समुदाय परेकाले नगरपालिकाले शनिबार राहत वितरण गरेको नगरपालिका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए ।

‘हामीले नगरपालिकाका ९५४ विपन्न परिवारलाई साबुन, दाल, नुन र २५ किलो चामल वितरण गरेका छौंँ । बाहिरी जिल्लादेखि काम गर्न आएका ५६ जनालाई राहतस्वरुप खाद्यान्न दिएका छाँैं । पहिलो चरणमा १५९ घरधुरीलाई खाद्यान्न दियौँ, बाँकी घरधुरीमा क्रमशः दिँदै जान्छौँ’, नगर प्रमुख खड्काले भने ।

खाद्य सामग्री हस्तान्तरण गर्दै खड्काले भने, ‘तपाईँहरू सबै लकडाउनको पालना गरी घरमै बस्नुहोला । घरआँगनमै स्थानीय सरकार भएकाले तपाइहरू भोकै बस्नुपर्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर