बाँके, चैत २९ : बर्षौंपछि बल्लतल्ल बोलपत्र भएको बाँके जिल्लाको संयुक्त जाँचचौकी (सुख्खा बन्दरगाह) निर्माणको काम अझै शुरु भएको छैन । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह क्षेत्रमा नेपालका तर्फबाट सुरक्षाकर्मीको बसोबास र कार्यालय भवनका लागि रु ५० लाखमा ठेक्का भएकामा माउण्टेन कैलाश निर्माण कम्पनीसंँग ठेक्का सम्झौता हुन बाँकी नै रहेकाले निर्माणको काम अघि बढ्न नसकेको हो ।
सम्झौताका लागि कागजी प्रक्रिया अघि बढिरहेकै अवस्थामा कोभिड—१९ को जोखिमपछि जारी लकडाउनले ठेकेदार कम्पनीसंँग सम्झौता रोकिएको आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालको भनाइ छ ।
अनौपचारिक रुपमा थाहा भएअनुसार भारत सरकारले बन्दरगाह निर्माणका लागि अहिले भारु एक अर्ब ३६ छुट्याएको छ । सो बन्दरगाह निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । सुख्खा बन्दरगाहमा मालसामान आयातनिर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुनेछन् ।नेपालका प्रदेश ५ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योगव्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयातनिर्यातलाई सहज व्यवस्थापन गर्न सुख्खा बन्दरगाह कासेढुंगा सावित हुने विश्वास गरिएको छ ।