कोरोना कहर : २५ दिनदेखि भोकभोकै त्रिपालमा
मङ्गलबार, बैशाख ०२, २०७७ मा प्रकाशित

बाँके, वैशाख २ : भारतको हैदराबादका सैयत खासीमको परिवार विगत २५ दिनदेखि बाँकेको कोहलपुरमा त्रिपालमा बसिरहेको छ । विगत १० वर्षदेखि नेपालमा विभिन्न समयमा भाडा बनाउने काम गर्दै आएका उनको परिवार अहिले लकडाउनको मारमा परेको छ ।

खासीमको तीन जनाको परिवार छ । उनीसँगै आएका अब्दुल रहमानको परिवार पनि कोहलपुरमै बसिहेको छ । उनको परिवार पनि २५ दिन अघि दाङबाट आएको हो । उनीहरुसँगै सात जनाको परिवार विगत तीन सातादेखि त्रिपालको बास बसिरहेका छन् ।

उनीहरु नेपालको विभिन्न स्थानबाट आफ्नो देश भारत जनाका लागि चैत पहिलो साता कोहलपुर आएका थिए । तर कोरोना भाइरस सङ्क्रमण हुन नदिन जारी गरिएको लकडाउनका कारण उनीहरु आफ्नो देश फर्कन पाएनन् । २५ मध्ये १६ जनाले आफ्नो मुलुक फर्कन रेलको टिकट समेत काटिसकेका थिए तर लकडाउनका कारण त्यो रद्द भयो ।

नेपालको सीमावर्ती भारतीय नाका रुपैडियाबाट हैदराबाद पुग्न रेलमार्गमार्फत पाँच दिन लाग्ने गर्छ । ‘हामी आफ्नो देश जान आएका थियौं, लकडाउनका कारण यही रोकियो । अलि अलि कमाएको पैसा पनि सकियो, अहिले हामी गम्भीर पीडित भएका छौं’, अब्दुर रहमानले भने, ‘भएको रुपैयाँ खाएरै सकियो, अब कसरी बाँच्नु ? यो चिन्ता र पीडाले हामी ग्रस्त छौं ।’ अझै लकडाउन लम्बिएको खण्डमा आफूहरुलाई निकै समस्या हुने उनले बताए ।

आफू जस्तै धेरै जनाको परिवार भोकभाकै बस्नु पर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘कोरोनाले न आफ्नो घर जान पाइयो, न यहाँको सरकारले हामीलाई सहयोग गरेको छ, अहिले हामी समस्या र पीडाले छटपटाइ रहेका छौं’, अर्का भारतीय नागरिक मोहम्मद अलिले भने, ‘स-साना बालबालिकाहरुको भोकप्यास मेटाउन समस्या परेको छ ।’

राहतका लागि वडा पालिकामा नाम लेखाएको भए पनि एक साता हुँदा समेत राहत नपाएको उनको गुनासो छ । ‘नजिकै बसेको दाइले वडाले राहत दिन्छ भनेर नाम लेखाउनु भयो, खै राहत अझै आएको छैन’, हुसेन अलिले भने, ‘यहाँको सरकारले राहत दिन्छ भन्थे अझै दिएका छैनन् । कमाएको पैसा पनि सकियो । अहिले निकै समस्या भएको छ ।’

राहतका लागि आफूहरु दुई–दुई पटक वडा कार्यालयमा गए पनि नागरिकता मागेपछि राहत नपाएको उनको गुनासो छ । उनले भने, ‘हामी त भाँडाकुडा बनाएर खाने मान्छे, सबै कागजात उतै छ, के गर्ने हामी त भोकभोकै त्रिपालको बास बसेको छु । लकडाउन छ, कसरी ल्याउने नागरिकता ? हामीलाई राहत उपलब्ध गराई दिए हुन्थ्यो ।’ उनले आफू केही वर्षदेखि दाङमा भाडामा बस्दै आएको बताए ।

आफ्नो मुलुक भारततर्फ जान आएको बेला उनी जस्तै २५ जनाको टोली यहीँ लकडाउनको मारमा परेको छ । ‘अहिलेसम्म आफ्नो कमाईले गुजारा चलाएका थियौं, लकडाउन लम्बिँदै जाँदा पैसा सकियो ।

अहिले हातमुख जोर्न धौ–धौ परेको छ’, उनीहरुले दुखेसो पोखे । उनीहरुको बिचल्ली देखेपछि यहाँका केही व्यक्तिले खानेकुरा सहयोग गर्न थालेका छन् । उनीहरु सबै मुस्लिम समुदायका हुन् । यतिबेला उनीहरुको मुख्य पर्वको समय भए पनि त्रिपालमुनि भोकभोकै बस्नुपरेको उनीहरुको गुनासो छ ।

कोहलपुर नगरपालिका–११ का वडाध्यक्ष कर्णबहादुर थापाले राहत वितरणका लागि उनीहरुको पनि नामावली सङ्कलन गरिएको र नगरपालिकाले दोस्रो चरणमा उनीहरुलाई राहत वितरण गर्ने बताए । उनले दोस्रोे चरणमा राहत वितरणका लागि १५ सयभन्दा बढी नागरिकको नामावली सङ्कलन गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर