जनान्दोलनको रकम कोरोना अस्पताललाई
बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

बुटवल, वैशाख ४ : जनान्दोलन २०६२–०६३ मा नागरिकस्तरबाट संकलन गरी आन्दोलनमा घाइतेको उपचारबाट बचेको रकम कोरोना विशेष अस्पताललाई प्रदान गरिएको छ । बुटवलका समाजसेवी बावुराम भट्टराईको संयोजकत्वमा गठित जनआन्दोलन आकस्मिक राहत कोष व्यवस्थापन समितिले उक्त रकम बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्थायी अस्पतालका लागि बुधबार हस्तान्तरण गरिएको हो ।

संयोजक भट्टराईले सो रकम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीलाई हस्तान्तरण गरे ।

उक्त समयमा कोषमा जम्मा भएको रकममध्ये जनान्दोलनका घाइतेको उपचार गरेर केही बचत रहेको थियो । तत्कालीन अवस्थामा घाइतेको उपचारबाट बचेको रकमबाट लुम्बिनी अंचल अस्पतालमा बिरामी प्रतीक्षालय निर्माण गरी बाँकी रु पाँच लाख ८७ हजार ४९५ कोरोना उपचारका लागि बनाइएको कोषमा हस्तान्तरण गरिएको हो ।

उक्त रकम बैंकमा रहिरहनाको कुनै औचित्य नरहेकाले अहिलेको विशेष परिस्थितिमा अस्पताल निर्माणका लागि बाँकी रकम हस्तान्तरण गरिएको अध्यक्ष भट्टराईले बताए ।

यस्तै कोभिड–१९) को जोखिम नियन्त्रण तथा रोकथामका लागि खटिएका सुरक्षाकर्मीका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ पश्चिम नवलपरासीले व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई) उपलब्ध गराएको छ ।

भाइरसको जोखिमबाट नागरिकलाई जोगाउन विशेषगरी सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीका लागि ४१ थान पिपिई प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई हस्तान्तरण गरिएको र युवा सङ्घका जिल्ला संयोजक युवराज डुम्रेले राससलाई जानकारी दिए ।

यस्तै रुपन्देहीको भैरहवा क्याम्पसमा अध्ययनरत विद्यार्थीको संस्था राइजिङ क्लबले सिद्धार्थनगर नगरपालिकाको कोरोना विपद् कोषमा रु ११ हजार १११ जम्मा गरेको छ । क्लबले नगर प्रमुख हरिप्रसाद अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष सागर न्यौपानेले देश महासंकटमा परेको बेला सदस्यले पनि सकेको आर्थिक सहयोग गरौंँ भनेर उक्त सहयोग गरिएको बताए । पाल्पाको रामपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा पनि नेपाली कांग्रेस रामपुर नगरले रु एक लाख ७७ हजार बराबरको राहत सहयोग गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर