बाँके, वैशाख १२ : कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतीय क्वरेन्टीनमा राखिएका नेपालीलाई नेपाल सरकारले घर फर्काउन सुरु गरेको छ ।
सरकारले प्रदेश नं ५ का नेपाल-भारत सीमा क्षेत्र बाँकेको जमुनाह दशगजा र रुपन्देहीको सीमा बेलहियाको भारत, नौतनहवा क्वरेन्टीनमा बसेका २८२ नेपालीलाई आज घर फर्काएको छ ।
नौतनहवाको क्वरेन्टीनमा बसेका ३४६ नेपालीमध्ये शुक्रबार १०१ नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी, अर्घाखाँची, मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यलगायतले दशगजामा स्वागत गरेका थिए ।
नौतनवाका तीन क्वरेन्टीनमा नेपालीलाई २५ दिनदेखि राखिएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार आज र शनिबार गरेर २९८ जनाले नेपाल प्रवेशको अनुमति पाएका छन् ।
उनीहरु पहिलो चरणमा क्वरेन्टीन बसेका हुन् । अन्यलाई केही दिनमै फर्काइनेसमेत प्रजिअ पन्थले बताए । नेपाल आएकामध्ये ३४ जना मालारानी गाउँपालिकाका छन् ।
उनीहरुलाई लिन आफैँ सीमामा आएका गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले उनीहरुलाई गाउँपालिकामा निर्माण गरिएका क्वरेन्टीनमा अझै १४ दिन राखेर स्वास्थ्य जाँचपछि मात्र घर पठाइने बताए ।
गाउँपालिका अध्यक्ष सीमामा आफूहरुलाई लिन आएको देखेर खुशी हुनुभएक मालारानीका बुद्धबहादुर केसीले भन्नुभयो, ‘जीवनमा पहिलोपटक सरकार प्रमुख नै लिन आएकाे छन । सरकारले हामी जस्ता मजदूरका लागि गरेको सहयोग कहिल्यै बिर्सँदैनौंँ ।’
गुल्मी धुर्कोट नयाँगाउँका अनिल खत्रीले पनि भारतीय क्वरेन्टीनको बसाइ राम्रै रहेको बताउँदै नेपाल सरकारले जनताप्रति देखाएको चिन्ताले राज्यप्रति गौरव सिर्जना भएको प्रतिक्रिया दिए ।
नेपाल प्रवेश गरेकामा अर्घाखाँचीका ४२, गुल्मीका ३०, तनहुँका सात, पाल्पा र रुपन्देहीका पाँचपाँच, बागलुंङका चार, कपिलवस्तु र धादिङका दुई-दुई तथा स्याङ्जा, जाजरकोट, खोटाङ र मोरङका एक-एक जना छन् ।