असोज १४, बर्दिया । बर्दियामा प्रहरीहरुमा कोरोना संक्रमण देखिएसँगै प्रहरीको स्थानमा सशस्त्र प्रहरी खटिएका छन् ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा जिल्ला प्रहरी कार्यालय गुलरियाका २० जना प्रहरीलाई कोरोना संक्रमण देखिएको हो ।
प्रहरीहरुमा संक्रमण देखिएसँगै आईसोलेसनमा बस्नु परेको हुँदा सदरमुकामको सुरक्षा व्यवस्थापन गर्न सशस्त्र प्रहरीलाई खटाइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख लिलाधर अधिकारीले बताए । खुला सीमानामा पनि सशस्त्र प्रहरीले निगरानी बढाएको छ भने बजार गस्ती तथा व्यवस्थापन लगायतका कामको जिम्मा पनि सशस्त्र प्रहरीलाई दिईएको छ ।
ठुला चाड दशैैं तिहार नजिकिँदै गर्दा सीमा नाकामा चोरी पैठारी र घरमा पनि चोरी चकारी बढने गर्दछ । प्रहरी कोरोना संक्रमित भएका कारण सीमा नाकाको चोरी पैठारी र घर चोेरीका घटना रोक्न र बजार व्यवस्थापनका लागि सशस्त्र प्रहरी खटाईएको सशस्त्रका एसपि एनबि रावतले बताए । सदरमुकामको सुरक्षार्थ पनि सशस्त्र प्रहरी खटाइएको हुनाले सीमाको सुरक्षा र सीमा नाकाबाट हुने चोरी पैठारीलाई रोक्न थप चुनौती थपिएको उनले बताए ।
संक्रमणकालिन अस्थामा अवैध तास खेलाउने गिरोह पनि यतिबेला सक्रिय भएको स्रोत बताउँछन । प्रहरी कोरोना कहर नियन्त्रणमा खटिएका बेला गाउँ गाउँमा जुवा तास खेलाउँने गिरोह सक्रिय रहेको स्थानीय बताउँछन । अवैध तासको धन्धा गुलरियाको खैरापुर, राजापुर र मधुवन लगायतका क्षेत्रमा गिरोहले तास खेलाउँने गरेको स्रोतको दाबी छ ।