भेन्टिलेटर अभावमा ज्यान गुमाउँदै संक्रमित
बुधबार, असोज २८, २०७७ मा प्रकाशित

२८ असोज, बुटवल । बुटवल १ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार बिहान मृत्यु भयो । असोज २२ गते संक्रमण पुष्टि हुँदा नै उनलाइ श्वासप्रश्वास र निमोनियाको समस्या थियो । उपचारमा खटिएका चिकित्सकका अनुसार उनी सुरुमै आइसियुमा राखेर उपचार गर्नुपर्ने बिरामी हुन् । तर अस्पतलाका आइसियु बेड खाली थिएनन् ।

आइतबार बिहानै बुटवलकै अर्का एक पुरुषको उपचारकै लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकृत डा. बिष्णु गौतमका अनुसार बुटवल छँदै ती बिरामीको अवस्था जटिल थियो।उनलाई जतिबेला पनि आइसीयु र भेन्टिलेटरको आवश्यकता पर्ने देखिएपछि दाङ पठाइयो । तर कपिलवस्तुको धानखोला नपुग्दै एम्बुलेन्समै उनको मृत्यु भयो।

यसअघि शनिबार तिलोत्तमा ३ की ६६ वर्षीया महिलाको पनि समयमै उपचार नपाएर मृत्यु भएको थियो।बुटवल तथा भैरहवाका कोरोना अस्पतालमा बेड खाली नहुँदा उनलाई होम आइसोलेसनमै राखिएको थियो।

प्रदेशमा पछिल्लोसमय लक्षणसहितका गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दो छ । तर यहाँका अस्पतालहरूको सेवासुविधा विस्तार भएकै छैन । जसका कारण समयमै उपचार नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन । प्रदेशमा कोरोना संक्रमणबाट १०३ जनाको मृत्यु भइसककेको छ।विशेषगरी आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले आइसियुको पालो कुर्दाकुर्दै ज्यान गुमाउनुपर्ने अवस्था रहेकोअस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । ‘आर्थिक अवस्था राम्रो हुनेहरूले काठमाडौं पनि पुर्याउन सक्छन् ।तर मारमा पर्ने गरिब बिपन्न नै हुन्,’ डा. थापाले भने।कोरोना संक्रमितको उपचार गर्ने अस्पतालका बेड भरिएका छन् ।

बेड अभाव हुँदा लक्षणसहितका र दीर्घरोग भएका संक्रमितसमेत होम आइसोलेसनमा बस्न बाध्य छन् । त्यसरी बसेकाहरूलाई अचानक स्वास्थ्य समस्या देखिँदा अस्पतालमा भर्ना पाउनै मुस्किल भएको तिलोत्तमा नगरपालिकाका स्वास्थ्य सहसंयोजक ईश्वरी पौडेलले बताए । ‘गम्भीर अवस्थाका संक्रमितलाई समेत आइसियु र भेन्टिलेर भेट्टाउन त महाभारत नै हुन लागिसक्यो,’ स्वास्थ्य अधिकारी पौडेलले तितो अनुभव सुनाए ।

उपचारै नपाएर संक्रमितले ज्यान गुमाइरहँदा र लक्षणसहितका संक्रमित थपिइँरहदा प्रदेश सरकारले अस्पतालको क्षमता विस्तारमा ध्यान दिएकै छैन । गत चैतमा तयार गरिएका संरचनाले नै अहिलेसम्म काम चलाइएको छ । १ सय बेडको भनेर सुरुमा प्रचार गरिएको बुटवलको कोरोना अस्पतालमा ४ वटा भेन्टिलेटरसहित १६ बेड आइसियु र ३२ बेड आइसोलेसन कक्ष छन् ।

भैरहवामा ५ बेड आइसियुसहित २२ बेड छन् । तर त्यहाँ जनशक्ति नहुँदा संक्रमितले उपचार पाउन नसकेको चिकित्सकहरू नै बताउँछन् । दाङ बेलझुण्डीको कोरोना अस्पतालमा ५ वटा भेन्टिलेरसहितको १० बेड आइसियु र ७५आइसोलेसन बेड छन् । तर यो अस्पालमा जनशक्ति पर्याप्त नहुँदा संंक्रमितको उपचार प्रभावकारी नभएको त्यहाँका स्वास्थ्यकर्मीहरू बताउँछन् । नेपालगञ्जको भेरी अस्पतालमा एउटा भेन्टिलेर, ८ वटा आइसियुसहित ६२ बेड छ । साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर