गुलरियामा चाउमिन उद्योगलाई ५० हजार जरिवाना
बिहिबार, असोज २९, २०७७ मा प्रकाशित

बर्दिया, असोज २९ । गुलरिया नगरपालिका स्थित बागेश्वरी चाउमिन उद्योगलाई ५० हजार जरिवाना गरिएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण बाँके, घरेलु तथा साना उद्योग बर्दिया र जिल्ला प्रशासन कार्यालय बर्दियाको नेतृत्वमा संयुक्त अनुगमनका क्रममा बागेश्वरी चाउमिन उद्योगलाई जरिवाना गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहले उक्त चाउमिन उद्योगले निर्माण गरेको खाद्यवस्तुमा २ महिना पछाडीको मिति राखेको, साइनबोर्ड नभएको, मुल्य सूचि नराखेको र चार वर्ष देखि उद्योग नविकरण नगरेको भनि जरिवाना गरिएको बताए ।

अनुगमनमा ६ सय ९६ वटा चाउमिन सस नष्ट गरिएको, संस्था नविकरण र अनुज्ञा पत्र नलिए सम्म उक्त उद्योगलाई सिल गरिएको सहायक प्रमुख शाहले जानकारी गराए ।

यस्तै गुलरिया नगरपालिकाका १० वटा पसलहरु अनुगमन गरिएको थियो । चाडपर्वको नजिकमा म्याद नाघेका सामान, खाद्य पदार्थ बेचबिखन नगर्न र मूल्य वृद्धि तथा कालोबजारी नगर्न व्यापारीहरुमा अनुरोध समेत गरिएको छ ।

अनुगमनमा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय बाँकेका विवेक कुमार सुवेदी र प्रेम अर्याल, घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका प्रमुख मोहन घर्ती मगर समेतको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर