उदयपुरको लिमचुङबुङमा २ घर जलेर २१ लाख बढीको क्षति
आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित

१६ कार्तिक, उदयपुर । उदयपुरको पहाडी गाउँपालिका लिमचुङबुङमा आगलागी हुँदा २ घर र एउटा गोठ जलेर क्षति भएको छ।

लिमचुङबुङ ४ बलम्ताको लाकुस्थित उदेशबहादुर राईका दुई घर मतान तथा उनकै भाइ देवबहादुरको गोठमा लागेको आगोले घर, मतान, अन्नपात, नगद र चौपाया पशु जलेर क्षति पुगेको हो।

विहान ११ बजेतिर गोठबाट एक्कासी सल्केको आगोले फुसको छानो भएको गोठ, मतान र घर जलेर नष्ट भएको पीडितका छिमेकी गणेश राईले बताए।

आगलागीबाट घरभित्र रहेको १० मुरी मकै, १२ मुरी धान, २५ हजार नगद, नागरिक्ता, जन्मदर्ता, जग्गा धनीपुर्जालगायत महत्वपूर्ण कागजात सबै नष्ट भएको उनले बताए।

त्यस्तै आगोले गोठमा बाँधिराखेका उदेश, दाजु गुरुबहादुर र भाइ देवबहादुरका ८ वटा गाई र ८ वटै खसी बाख्रासमेत जलेर मरेका छन्।

मध्यान्हको समय परेकाले चर्को घाममा लागेको आगो निभाउन निकै सकस परेको थियो।

गाउँभरीका मान्छे भेला भएर लगभग ३ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएको स्थानीय जनप्रतिनिधि गाउँ कार्यपालिका सदस्य जानुका राईले बताईन्।

घट्नाबारे जानकारी दिएपछि लिमचुङबुङ इलाका प्रहरी कार्यालय बाराहादेखि टोली आएर स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का गरेर फर्केको वडाध्यक्ष यन्डप्रसाद राईले बताए।

उनका अनुसार आगोले घर, मतान र गोठ जलेर नष्ट भएपछि पीडित परिवारका १० सदस्यलाई छिमेकीहरुको घरमा सरण दिएर राख्नु परेको छ।

पीडितहरुका लागि तत्काल राहतको व्यवस्था गर्न वडा कार्यालयले गाउँपालिका र सम्बन्धित निकायसमक्ष सिफारिस गरिएको वडाध्यक्ष राईले बताएका छन्। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर