पौष ९ गुल्मी : गुल्मीमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण शिक्षाबाट बन्दै गरेको विद्यालय भवनमा तोडफोड भएको छ।
मालिका गाउँपालिका – ७ घमिरको देवीस्थान माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा गएराति अज्ञात समूहले तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढाथोकीले जानकारी दिए।
निर्माणाधीन विद्यालयको भवनमा तोडफोड भएको र घटनास्थलको मुचुल्का तयार पारी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षाबाट निर्माणाधीन ४ कोठे विद्यालय भवनको दुईवटा कोठा, ४ वटा झ्याल र भौतिक संरचनामा तोडफोड भएको बुढाथोकीले जानकारी दिए।
निर्माणाधीन भवनको हाल सम्म ३५ प्रतिशत काम सम्पन्न भएको राष्ट्रिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, शिक्षा इकाइका प्रमुख पीताम्बर पन्थीले जानकारी दिए।
त्यस क्षेत्रमा यस अगाडी पनि वडा कार्यालय तोडफोड गरी नगद र ल्यापटप पनि चोरी भएको थियो। कसले चोरी गरेको भन्ने बारेमा अहिलेसम्म खुल्न सकेको छैन। ती घटनाबारे पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।थाहाखबरबाट साभार