दुर्गा आचार्य
बर्दिया, पुस १४ । सरकारले गरेको संसद विघटनका बिरुद्ध देश व्यापी बिरोध प्रदर्शन भएसंगै बर्दियामा पनि विरोध प्रदर्शन भएको छ ।
बर्दियाको क्षेत्र नं. २ को राजापुर नगरपालिका र क्षेत्र नं. १ को गुलरिया नगरपालिकामा सोमवार संसद बिघटन विरुद्ध एक साथ विरोध प्रदर्शन भएको हो । कम्यूनिष्टहरुको आपसी भागवण्डा नमिलेकै कारण नेपाली जनताले फेरी सडक तताउन परेको नेपाली काँग्रेस बर्दियाका सभापति संजय गौतमले विरोध सभामा बताएका छन् ।
संविधान सभाको निर्वाचन पछि दुई कम्यूनिष्ट पार्टीहरु मिलेर दुई तिहाईको वहुमतको सरकार बनाई केन्द्र, प्रदेश र स्थानीय तहमा पनि बहुमत भएता पनि स्थिर राजनितीक यात्रा तय गर्न नसकेको सभापती गौतमले बताएका छन् । नेपाली काँग्रेसले विभिन्न आरोप र अपजस सहेर भएपनि बहुमतको कम्यूनिष्ट सरकारलाई राज्य संचालन गर्न सकारात्मक प्रतिपक्षको रुपमा सहयोग गर्ने गरेको भएतापनि आपसि लडाईका कारण गलत निर्णय लिएर संसदनै विघटन गरि आम जनाताको बिश्वास माथि कुठाराघाट गरेको गौतमको भनाई छ ।
गौतमले संविधान विघटनको मुद्धा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेकाले सर्वोच्चले संसद विघटनको कदमलाई असंवैधानिक भनेर फैसला सुनाउने कुरामा विश्वस्त रहेको बताएका थिए । सम्पुर्ण नेपाली जनताको ध्यान मर्यादित सर्वोच्च अदालत तर्फ रहेकाले सर्वोच्चले फेरी पनि आफ्नो गरिमा उच्च राख्ने नेपाली जनताले विश्वास लिएको विरोध सभामा उनले बताए ।
विरोध सभामा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभासद भुवनेश्वर थारु, महासमिती सदस्य सोदे विष्ट, नेपाली कांग्रेसका पूर्व सभासद मंगल प्रसाद थारु लगाएतका नेताहरु सहभागी भएका थिए । काँग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली राधाकृष्ण चोक, हुलाक चोक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चोक हुदै नगरपरिक्रमा गरि राधाकृष्ण चोकमा गई कोण सभामा परिणत भएको थियो ।