दाङ, फागुन १५ : ‘चौध वर्षकै कलिलो उमेरमा बिहे गरेँ, १५वर्षमा पहिलो सन्तान जन्माएँ । सुत्केरी समयमा पनि राम्रोसँग खान र आराम गर्न पाइन । अहिले आएर पाठेघरको समस्या निस्कियो । यही यही समस्याले पीडित छु ।’
निःशुल्क स्वास्थ्य उपचार हुने थाहा पाएर आएकी तुलसीपुर उपमहानगरपालिका– १९ धरमपुरकी ६८ वर्षीया देवीसरा नेपालीले भने । उनले घरायसी काम र सुत्केरी अवस्थामा राम्रो खानपिन नपाइएकाले तल्लो पेट दुख्ने, रगत बग्ने समस्या आएको र आङ खस्ने समस्याले सताएको सुनाए ।
शुरुमा थाहा पाए पनि लाजले कसैलाई सुनाउन नसकेही उनी अहिले भने उपचारका लागि आएका े हो । उनी अहिले पनि तल्लो पेट दुख्ने, बस्दा असजिलो हुने र निकै रगत बग्ने समस्या रहेको बताउँछन् । उनले भने, ‘डक्टरलाई जचाएँ, रिङ राखिदिए र औषधि पनि दिए । पैसा पनि लागेन । अब त सञ्चो हुन्छ कि भन्ने आश पलाएको छ ।’
प्रदेश नं ५ सरकारले सरकार निर्माण भएको दुई वर्ष पूरा भएका अवसरमा दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो (प्रदर्शनी) राखेको थियो । उक्त प्रदर्शनी कार्यक्रममा यहाँका नागरिकको स्वास्थ्यलाई लक्षित गर्दै तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । गत आइतबारदेखि शुरु भएको शिविर मंगलबार सम्पन्न भएको हो ।
देवीसराले यस प्रदर्शनीमा स्वास्थ्य जाँच गराएपछि आङ खस्ने समस्या रोग होइन रहेछ भन्ने बुझ्ए । भने, ‘यो त रोग होइन रछ, लाज मान्नुपर्ने रहेनछ भन्ने कुरा अहिले आएर बुझेँ ।’ पाँच छोराछोरीकी आमा देवीसराका श्रीमान् केही वर्ष पहिले बितिसकेका थिए । अहिले भए पनि लाज लागेर घरमा पनि कसैलाई भनिन्’, उनले भने । पाँच वर्षअघिमात्र घरमा श्रीमान्लाई भनेपछि श्रीमान्ले उपचारका लागि नेपालगञ्ज लगेका उनले सुनाए ।
नेपालगञ्जमा आङ खसेको छ भनी रिङ राखेर पठाइदिए पनि सञ्चो नभएको उनले बताए । अहिले पनि समस्या थियो, गाउँमा शिविर आएको थाहा पाएपछि जचाउन बुहारीसँगै आएको उनले बताए । उनलाई भने डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनेको उनले भने ।
शिविरमा यो समस्याबाट पीडित धेरै महिला उपचारका लागि यहाँ आएको जानकारी दिइयो । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउन अस्पताल जान न सक्ने अवस्था नरहेका महिला यो स्वास्थ्य शिविरमा आएका थिए । उनीहरूले निःशुल्क उपचार र औषधि पाएपछि खुशी पनि व्यक्त गरेका थिए ।
सामाजिक लाजका कारण रोग लुकाउने प्रवृत्ति, आर्थिक अभाव र उपचारका बारेमा थाहा नपाएका कारण यहाँका कैयौँ महिला वर्षौंदेखि यो रोगको उपचार नगराई लुकाएर बस्ने गरेका छन् । जसका कारण यहाँका धेरै महिला पाठेघरको समस्याले पीडित रहेका छन् ।
यस स्वास्थ्य जाँच शिविरमा मुटु, मिर्गौला, स्त्रीरोग, मुटुसम्बन्धी रोग आदिको विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच गरी नागरिकलाई सेवा प्रदान गरिएको थियो । त्यस्तै शिविरमा ल्याब, भिडियो एक्स–रे, इको, इन्डोस्कोपी तथा पाठेघरको मुखको क्यान्सर भए नभएको सम्बन्धमा परीक्षण गरिएको थियो । बिरामीलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । शिविरमा ८१७ जना महिलाको पाठेघरसम्बन्धी जाँच गरिएको थियो ।
यस शिविरमा २५० जना महिलाको पाठेघरको मुखको क्यान्सर भए÷नभएका विषयमा परीक्षण गरिएकामा पाँच जना बिरामी शंकास्पद भेटिएको शिविरमा खटिनुभएकी राप्ती प्रादेशिक अस्पाताल तुलसीपुरका नर्सिङ अधिकृत रमा पराजुलीले जानकारी दिए ।
उनका अनुसार छ जनाको पाठेघर खसेकाले रिङ राखिएको छ भने तीन जनालाई शल्यक्रियाका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ । उपचारका लागि आएका बिरामीमध्ये करिब ९० प्रतिशतमा पाठेघरको मुखमा घाउ, तथा संक्रमण भएको, सेतो पानी बग्ने समस्या रहेको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहले बताए ।
उनले ग्रामीण समुदायमा बसोबास गर्ने महिलामा यो समस्या धेरै भेटिने गरेको जानकारी दिए । उनले हरेक महिलालाई कम्तीमा पनि वार्षिकरुपमा पाठेघर चेक गराउन, पाठेघरको मुखमा क्यान्सर भए नभएको समयमा थाहा पाउनका लागि पनि नियमितरुपमा स्वास्थ्य परीक्षण गराउन तथा सरसफाइमा विशेष ध्यान दिन सल्लाह दिए ।
उनले पाठेघरको क्यान्सर लागेको भए पनि शुरुकै अवस्थामा थाहा पाएमा निको पार्न सकिने भन्दै महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्नेलगायतका समस्या देखिएपछि तुरुन्त अस्पताल पगेर स्वास्थ्य जाँच गराउन पनि सबैलाई सुझाव दिए ।