बर्दिया,साउन २ / “लुतो पिलो खाट-खटिया लैजाओ पल्ला गाँऊले हो” भन्ने प्रचलन आज हामी बिच बिस्तारै हराउँदै गएको छ । ओल्लो गाँउ र पल्लो गाँउमा राम्रा सोझा दाउरा बालेर कस्ले कति पर फ्याँक्न सक्ने यसमा गौरव थियो । कुकुर डाइनो, कुरिलो शिरु जुम्लयाहा विमिरो, जुम्लयाहा अम्बा, जुम्ल्याहा निवुवा फलफुल लगायत आफ्नो बारीमा फलेका फलफुलहरु जम्मा गरेर तुलशीमठमा राखी पुजा गरेको निकै याद आउछ ! यो संस्कार संस्कृति आज विस्तारै हराउदै मात्र होइन, लोप हुदैछ ।
यमराज पनि डराउने तिघ्रे फुलको पात थिचेर हातमा लगाउने दिदी वहिनीहरु साउने सक्रान्ति प्रति लालायित हुन्थ्ये, त्यो त इतिहास भै सक्यो । रातभर थिचेको तिघ्रे फुल हातमा राखि बाँधेर दुवै हात राख्दा भोली पल्ट यस्तो राम्रो कलर हातमा देखिन्थ्यो । त्यसले तरुनी अवस्थामा रहेका चेलीहरुको इज्जत र सम्मानमा बढोत्तरी भएको भन्न सकिन्थ्यो ।
यस सक्रान्तिलाई सबै वृद्धवृद्धा देखि धार्मिक आस्था भएका व्यक्तिहरुले नदिमा गई स्नान गर्ने, देवी देवताको पुजा अर्चना गर्ने र यहि दिनबाट बार्षिक रुपमा मनाईने चाड पर्वहरुको सुरुवात भएको भन्ने समेत हाम्रा हिन्दु संस्कार भित्र आज पनि रहेको छ । साउने सक्रान्ति मनाउदै गर्दा वृद्ध बुढा पाकाहरुले हिउदको जाडो पनि कटाईयो, यो वर्ष बाचियो भन्ने विश्वासिलो तथ्यहरु पनि व्यक्त गर्ने गरेका उदाहरणहरु पनि सुन्न पाईन्थ्यो ।
नेपाली जनता किसान हुन, जस्ले यो समय मानो धानको विऊले मुरी फलाउने सपना राख्छ । लग भग ज्येष्ठको अन्तिमबाट शुरु गरिएको रोपाई आषाढ मसान्त सम्म सक्ने हरेक किसानको पहिलो प्राथमिकता हुन्थ्यो । आफूसंग भएको खेत कस्ले कहिले रोप्यो, भन्ने कुरामा पनि महत्व राखिन्थ्यो । रोपाईको सुरुवात संगै किसानका परिवार खेत मै १२-१४ घण्टा बिताउने गरेको देखिन्थ्यो । खेतमा काम गर्दा हात गोडा हिलोले खाएर भतभती पोल्दै रात विताउने धेरै कृषकहरु थिए ।
अहिलेको जस्ता हस्पिटलहरु नजिक थिएनन् । किसानले स्थानिय जडिवुटी प्रयोग गरी आफूलाई भोली पल्टको मेलाको लागि तयार पार्नु पर्दथ्यो । जडुबुटीका रुपमा कालीझार थिचेर त्यसको झोल हात गोडामा लगाउने, सिरु झार आगोमा राखी हात गोडा सेकाउने गर्दै आफ्नो स्वास्थ्यलाई सवल तुल्याउन हरदम तयार भएका हुन्थे । यसले पनि किसान वर्गमा साउने संक्रान्ति सम्म जसरी भए पनि रोपाई मैजारो गर्नु पर्छ भन्ने दृढ संकल्प रहेको पाईन्थ्यो।
आषाढ मसान्त सम्म रोपाई सम्पन्न गरी पट्केरिठ्ठोको गेडाले नुहाउने देखि गोरुले दुःख गरेकोमा खोलामा लगि धोई पखाली, नुहाई दिई धानकै विऊ शिरमा राखि धान धेरै फलोस भन्ने कामना समेत गर्ने कार्य हुन्थ्यो । संस्कार र संस्कृतिको एउटा ज्वलन्त नमुना देखिन्थ्यो । यिनै कार्यबाट आजबाट खेतमा रोपाई सकिएको पुष्टि हुन्थ्यो ।
साउने सक्रान्तिलाई सबै कृषकहरुले धुमधामले मनाउथे । विहान सबै गाँउ घरमा सल्लाह गरि गतिलो खसि काट्ने प्रचलन थियो । आषाढको हिलोमा काम गर्दा गलान भएको ज्यान तङ्ग्रर्याउन खसीको मासु खाने पुरानै प्रचलन हो । सबै मिली यस किसिमका कार्य सम्पन्न गर्न गाँउमा एउटा राम्रो एकता सहकार्य तथा समन्वय देखिन्थ्यो । त्यस वेला सबै जातजाती आ-आफ्नो इच्छा अनुसार यस पर्वलाई मनाउने गर्दथे । आजकाल यहि पर्वको शुरुवात अलि भिन्न ढंगबाट मनाउने गरेको पाईन्छ ।
श्रावण महिना भरि मानिसहरु सात्वीत भोजन गर्ने मठ मन्दिरहरुमा पुजा अर्चना गर्ने, बोलबम भन्दै पँहेला पहिरनमा मन्दिरहरुमा जाने देखिन्छ । महिलाहरु हरियो चुरापोते लगाउने, हरिया कपडा, हात भरी बजारिया मेहेन्दी लगाउने गर्ने गरेको पाईन्छ । धार्मिक रुपमा देखिएको यो परिवर्तन स्वभाविक हो वा अन्यन्त्रको देखासिखी वा आडम्वर वा धर्ममा मानिसहरुको अगाध आस्था ! हाम्रा पुर्वजहरुले गरेको कार्य धर्म विरोध थियो र ! आज परिवर्तन भयो या छिमेकी देशको देखा सिखीले यो ठाउमा पुर्यायो विचारणीय पक्ष भएकाले मुल्याङ्कन पाठक वर्गमा ! कर्म र धर्मको विचको फरकले समाजको वास्तविकतालाई उजागर गर्दैन र !