बर्दिया, साउन १२ (फरकसमाचार) / अत्यधिक गर्मीको बेलामा झ्याप झ्याप हुने बिद्युत कटौतीले उपभोक्तालाई सास्ती खेप्न परेको छ । हावाहुरी नआएको समयमा पनि झ्याप झ्याप लाईन काटिदाँ सर्वसाधारण उपभोक्तालाई सास्ती व्यहोर्नु परेको हो । अत्यधिक गर्मीको समयमा २४सैं घण्टा छिन छिन हुने अघोषित विद्युत कटौतीको समस्या लामो समय देखि समाधान नहुँदा विद्युत प्राधिकरणको चौतर्फी आलोचना भईरहेको छ ।
बिद्युत प्राधिकरणको चरम लापरवाहीले छिन छिनमा बिद्युत कटौती हुने गरेको सर्वसाधारणको आरोप छ । लामो समय देखि यो समस्यालाई समाधान नहुनु प्राधिकरणको चरम लापरवाही रहेको सर्वसाधारणको आँकलन छ ।
गर्मी मौसम सुरु भएदेखि छिन छिनमा हुने बिद्युत कटौतीले राती सुत्न नसकेको गुलरिया नगरपालिका–११ का रमेश यादवले बताए । ‘दिनभरि कामको थकान हुन्छ,’उनले भने,‘राती विद्युत लाईनको नाटकले हाम्रो निन्द्रा बिथोलिन्छ, विद्युतका हाकिमहरुको कोठामा २४सैं घण्टा लाईनको व्यवस्था हुन्छ,उहाँहरुले हामी सर्वसाधारणले पाएको दुःख कहाँ बुझ्नु हुन्छ ।’
अघोषित विद्युत कटौती हुँदा विद्युत लाईन कहिले आउने जानकारी लिन विद्युत प्राधिकरणको कार्यालयमा फोन सम्पर्क गर्दा जहिल्यै व्यस्त हुन्छ फोन लागेपनि कहिल्यै नउठ्ने गरेको उपभोक्ताहरुको व्यापक गुनासो छ ।
आजभोलि यति कम भोल्टेज हुन्छ की पंखा, मोटर र फ्रिजसमेत नचल्ने गरेको गुलरिया नगरपालिका–८ का रामु थारुले बताए । ‘छिन छिनमा हुने विद्युत कटौती र हाई, लो भोल्टेजले विद्युतीय सामाग्री बिग्रिने उच्च जोखिम बढेको छ,’उनले भने,‘विद्युतको यो लापरवाहीले गर्दा वर्षौ देखि मेहनत परिश्रम गरेर जोडेको सामाग्री पनि बिग्रेर जाने सम्भावना बढेको छ ।’
छिन छिनमा हुने विद्युत कटौतीले अटोको चार्जर, कम्प्युटर, मोबाइल चार्जर, बल्ब, फ्रिज र पंखालगायत अन्य बिद्युतिय सामाग्री बिग्रिने जोखिम बढ्दो छ । त्यस्तै अघोषित विद्युत कटौतीले उद्योगी, व्यवसायी मारमा परेका छन् ।
छिन छिनमा हुने विद्युत कटौती सर्वसाधारणको गुनासोमा सत्यता नरहेको नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रका प्रमुख कमर आलम खाँनले बताए । ‘आइतबार दिउँसो मालपोत कार्यालय नजिक जम्पर सर्ट भएर १० मिनेट काटिएको हो,’कार्यालय प्रमुख खाँनले भने,‘त्यसैगरि शनिबार राति तुल्सिपुर तिर फल्ट देखिएर एकछिन लाईन गएको थियो,विद्युत लाईन हो अलि अलि समस्या भईहाल्छ ।’ माथि देखि नै ओभर लोड भएकोले भोल्टेजको समस्या रहेको प्रमुख खाँनले स्विकार गरे ।