किसानद्वारा प्रशासन घेराउ
सोमबार, साउन २७, २०८२ मा प्रकाशित

बर्दिया,साउन २६(फरकसमाचार)/ किसानले जिल्ला प्रशासन घेराउ गरेका छन् । मलको माग गर्दै किसानले आइतबार प्रशासन घेराउ गरेका हुन् । मल नपाएर आक्रोसित बनेका किसानले प्रशासन अगाडि प्रदर्शन गरेका थिए । कृषिमन्त्री राजीनामा दे, किसानलाई समयमा मलखाद दे, किसान एकता जिन्दावादलगायतका किसानले चर्को नारावाजीसमेत गरेका थिए । मलको चरम अभाव खेपिरहेका किसानहरु समयमा मलखाद नपाउँदा उत्पादनमा ह्रास आउने डरले चिन्तित बनेका छन् ।

हामी किसान जहिले मर्कामा पर्ने गरेको गुलरिया नगरपालिका–७ का नरेन्द्र यादवले बताए । ‘खडेरीको बेला जसोतसो बोरिङले सिंचाई गरेर धान रोपाई गर्यो,’उनले भने,‘अहिले धानमा मल हाल्ने बेला छ, यो बेला रुपियाँ तिर्दा पनि युरिया मल पाईएको छैन ।’ ‘यस्तै हालत रह्यो भने हामीले कसरी धान उत्पादन गर्ने ?, कसरी आफ्नो बालबच्चा पाल्ने,’उनले भने ।

मल नपाएर किसानहरु प्रशासन आएको सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले बताए । ‘किसान धेरै छन्,मल थोरै आउँछ र पुग्दैन, आएको मलको कोटा तोक्ने अधिकार पालिकालाई छ,’सहायक प्रजिअ कठायतले भने,‘किसानहरुको समस्या समाधानको लागि गुलरिया नगरपालिकाकी उप–प्रमुखसंग समन्वय गरेका छौं ।’

कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख लाल बहादुर चौधरीका अनुसार युरिया मल छैन । यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका प्रमुख प्रविणजंग शाहका अनुसार मल आउँछ र कोटा अनुसार सहकारीमार्फत गईरहेको छ । जिल्लामा ५० हजार १ सय ५० हेक्टरमा बर्खे धान खेती हुने गरेको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर