बेपत्ता बालक खोज्न फरकसमाचारकर्मी सहितको टोली भारतमा
बुधबार, भदौ १८, २०८२ मा प्रकाशित

बर्दिया,भदौ १८(फरकसमाचार) / गुलरिया नगरपालिका–१० कालाबन्जारका १५ वर्षीय सनोज यादव भारतको बरेली स्थित मनौना धामबाट बेपत्ता भएको दुई साता बढी भईसकेको छ । बालक आफ्नो परिवारका सदस्यहरुसंग गत साउन २९ गते बरेली स्थित मनौना धाम दर्शन गर्न गएका थिए । बेपत्ता बालकलाई खोजी गरिदिन परिवारले हारगुहार गरिरहेको छ ।

बेपत्ता बालकको बुवा बैदेशिक रोजगारीमा छन् । बेपत्ता छोराको वियोगमा आमा सरिता यादवको अवस्था बेहाल छ । दिनरात छोरालाई सम्झेर रुदारुदै उनको स्वस्थ्य अवस्था नाजुक भईसकेको छ ।

साउन ३० गते मनौना धाम दर्शनको लागि लाईन लागेको बेला छोरा बेपत्ता भएको आमा सरिता यादवले बताईन् । बेपत्ता बालकलाई परिवारका सदस्यसहित संगै गएका गाउँका व्यक्तिहरुले दुई तीन दिन खोज्दासमेत फेला नपरेपछि निराश भएर फर्किएका थिए ।

अघिल्लो साता संघिय सांसद अब्दुल खानले बेपत्ता बालकको खोजीको लागि संसदबाट सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

गत आइतबार फरकसमाचारकर्मी कृष्ण प्रसाद भुसाल, गुलरिया नगरपालिका–१० का वडा अध्यक्ष लक्ष्मी नारायण लोध, बेपत्ता बालकका आफन्तसहित ६ जनाको टोली बेपत्ता बालकको खोजी गर्न भारतको बरेली स्थित मनौना धामतर्फ गएको थियो ।

बेपत्ता बालकको खोजतलासको क्रममा मनौना धामलगायत वरिपरिका स्थानको चप्पा चप्पा खोजतलास गर्दासमेत बेपत्ता बालकको अवस्था अझै अज्ञात रहेको फरकसमाचारकर्मी कृष्ण प्रसाद भुसालले बताए । ‘हामीले मनौना धाम स्थित प्रहरी प्रशासनलाई बेपत्ता बालकको खोजीको लागि अनुरोध गर्यो,’भुसालले भने,‘यहाँका प्रहरी, प्रशासनले बेपत्ता बालकको खोजीको लागि हामीलाई सघाँईरहेको छ ।’ मनौना धाम स्थित चप्पा चप्पा खोज्दा बेपत्ता बालक नभेटिदाँ अन्य कुनै गाडीमा चढेर अन्यत्र गएको हुन सक्ने आशंका गरिएको भुसालले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर