बर्दिया,कार्तिक १० (फरकसमाचार) / मधुवन– ६ स्थित कृष्ण प्रसाद ज्ञवालीको घरमा तीन दिन देखि मानिसको घँुईचो छ । पूजापाठ गर्ने ज्ञवाली एक सज्जन व्यक्तिका नामले परिचित छन् । ज्ञवालीको अर्को पहिचान तान्त्रिक बिद्या समेत रहेको स्थानीयको बुझाई छ ।
तान्त्रिक बिद्या जानेका ज्ञवालीको घरमा अदृश्य शक्ति रहेको प्रचार प्रसारले स्थानीय अचम्भित हुने गरेका छन् । एक स्थानीय भन्छन्,‘तान्त्रिक बिद्या जानेकाको घरमा तीन दिन देखि घर भित्र आगलागी हँुदा जलेर नष्ट भएको छ, यो दैबिक शक्ति हो कि पिचासको शक्ति हो ।’
तान्त्रिक जानेकाको घरमा आगलागी हुने हल्लासँगै अहिले मधुवन तरंगित भईरहेको छ । देख्नेले भन्छन्,‘ छिनछिनमा घरका भिन्न भिन्न ठाउँमा आगोलाग्छ, प्रत्येक कोठामा पानीको गाग्री आगो निभाउँन राखेका छौ, जहाँ आगो लाग्छ तुरुन्तै निभाईहाल्छम् ।’ एकाएक घरमा आगलागी हुन थालेपछि मानिस छक परेको स्थानीय सुनाउँछन् ।
मधुवन नगरपालिकामा एउटा अनौठो घटना सार्वजनिक भएसँगै सबैको ध्यान केन्द्रित भएको छ । प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । स्थलगत अनुगमनका लागि पुग्ने मानिसले बिज्ञान होकि दैविक चमत्कार केहो भन्ने अनभिज्ञता प्रकट गर्दै आएका छन् । केहि महिना अघि देखि नगद रुपैया हराउँने गरेको समेत परिवार स्रोतको दाबी छ । ‘पैसा राख्यो पैसा हराउँछन्, मोबाईल राख्यो, मोबाईल हराउँछ’ परिवारका एक सदस्यले भने । जसले गर्दा उक्त घरका घर सदस्य विच एक आपसमा आरोप पत्यारोपले द्वन्द्व सिर्जना गरिरहेको समेत उनीहरुले खुलाए ।
घरमा शुक्रबार राति देखि एकाएक आगलागी हुन थालेपछि स्थानीय दंग परेका छन् । कसरी आफै आगलागी हुन्छ कौतुहलता राख्ने सर्वसाधारणको भिडभाड बढेको छ । यद्यपि आफै आगलागी कसरी भईरहेको बारेमा अझै केही खुलेको छैन । घरमा भएको बाकस, कपडालत्तालगायत अन्य सामानहरुमा छिन छिनमा आफै लागलागी भईरहेको पीडित कृष्ण प्रसाद ज्ञवालीले बताए । ‘आफै आगलागी हुन थालेपछि घरभित्रको सामान बाहिर राखेका छौं,’उनले भने,‘एकछिन मान्छेको चहलपहल शान्त हुँदा एक्कासि आगलागी हुन्छ ।’ यस अघि घरमा राखेका नगद, सुनका गरगहना र मोबाइल हराएको उनले जनाए ।

