प्रशान्त टण्डन क्षेत्री
बर्दिया,कार्तिक ११/ गुलरियामा धुमधाम छठ पर्व मनाईएको छ । सोमबार अस्ताउँदो र आज मंगलबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ छठ पर्व मनाएका हुन् । गुलरियाको दुई ठाउँमा छठ पर्वको लागि घाट तयार गरिएको थियो । गुलरिया नगरपालिका–७ स्थित छठी माई घाट र वडा नंम्बर ८ भादा घाटमा पूजा गर्ने ब्रतालु र दर्शकहरुको बाक्लो उपस्थिती रह्यो । सिगाँरिएका दुई वटै घाट बत्तिले झकिझकाउ देखिन्थे ।
आज मंगलबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर प्रसाद ग्रहण गरि औपचारिक रुपमा छठ पर्वको समापन गरिएको छ । सोमबार दिनभरि निर्जल ब्रत रहेका ब्रतालुले साँझ घाटमा अस्ताउँदो सुर्यलाई अर्घ दिएर छठी माताको पूजा आराधना गरेका थिए । ठेकुवालगायत विविध परिकार र विभिन्न किसिमका फलफूलका मिश्रित प्रसाद लिएर ब्रतालु घाटमा पुगेका थिए । सुख, शान्ति, समृद्धि र सन्तान प्राप्ति तथा दीघार्यूको लागि छठपर्व मनाउने धार्मिक विश्वास छ । यो पर्व चार दिनसम्म मनाईन्छ । गत शनिबार नहायखाय विधिबाट सुरु भएको थियो ।

छठी माई घाट स्थित सोमबार साँझ देखि मंगलबार बिहानसम्म भारतका प्रसिद्ध कलाकारहरुद्वारा भजन किर्तन भएको गुलरिया नगरपालिका–७ का वडा अध्यक्ष मनोज कुमार यादवले बताए । मंगलबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर छठपर्वको समापन गरिएको अध्यक्ष यादवले जनाए ।
छठी माई घाटमा गुलरिया नगरपालिकाका मुक्तिनाथ यादव,प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक सरोज पौडेल र सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीलगायतको उपस्थिती रहेको थियो ।
यस्तै भादा घाटमा पनि रातभर झाँकी प्रदर्शन, देवी जागरणसहित साँस्कृतिक कार्यक्रम भएको श्री मिथिला साँस्कृतिक संरक्षण प्रतिष्ठानका सचिव एवम् छठ पूजा समितिका प्रचार प्रसार संयोजक संदिप कर्णले जनाए ।
विगत केही वर्ष देखि छठ घाटमा रातभर साँस्कृतिक कार्यक्रम हुन थालेपछि भक्तालुहरुको चहल पहल हुने गरेको छ । आजभोली छठ घाटमा पहिलाको भन्दा बढी भक्तालुहरुको उपस्थिती हुने गरेको गुलरिया नगरपालिका–७ का ५३ वर्षीय धिरेन्द्र मिश्राले बताए । ‘पहिला घाटमा भक्तालुहरुको संख्या न्युन हुन्थ्यो जसले गर्दा साँझ पूजा गरेर घर फर्किन्थ्यो र बिहान पूजा गर्न फेरि घाटमा पुग्थ्यो’उनले भने,‘तर,विगत केही वर्ष देखि घाटमा साँस्कृतिक कार्यक्रम आयोजना हुँदा रातभर घाटमा भक्तालुहरुको चहलपहल हुन्छ ।’

