आठ जनाको विरुद्धमा मुद्दा दर्ता,दुई पक्राउ
बिहिबार, कार्तिक २८, २०८२ मा प्रकाशित

बर्दिया, कार्तिक २७(फरकसमाचार)/ ज्यान मार्ने उद्योगमा आठ जनाको विरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ । ठाकुरबाबा नगरपालिका–३ मृचैयामा गत सोमबार राति भएको घटनामा संलग्न आठ जनाको विरुद्धमा मंगलबार प्रहरीमा मुद्दा दर्ता भएको हो । गत सोमबार राति साढे १२ बजे गोली प्रहारबाट ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँका ३८ वर्षीय रमेश तिमिल्सिना घाईते भएका थिए । तिमिल्सिनालाई ठाकुरबाबा नगरपालिका–३ गिदरपुरका २५ वर्षीय तर्क भण्डारीलगायतको समुहले कुटपिट गरेको थियो । घाईते तिमिल्सिनाको हातको पञ्जामा गोली लागेको जस्तो घाउ छ ।

ठाकुरबाबा नगरपालिका–३ मृचैया स्थित भीम साउदको घरमा आइतबार एक जना मानिसको कालगतीले मृत्यु भएको थियो । कुरुवा बस्न गएको बेला जुवातास खेल्दा खेल्दै विवाद उत्पन्न भई कुटाकुटको स्थितीमा पुगेको थियो । सो दिन घटना स्थलमा गोली चलेको आवाज सुनिएकोले गोली प्रहार भएको स्थानीयको भनाई छ ।

घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई कारवाहीको माग गर्दै घाईतेका आफन्तले मंगलबार एक र बुधबार बिहान ९ बजेदेखि दुई घण्टा भुरिगाउँ स्थित पुर्व पश्चिम राजमार्ग अबरुद्ध गरेका हुन् ।

‘स्थानीयका अनुसार घाईते तिमिल्सिनालाई गोली लागेको बुझिएको छ,’ठाकुरबाबा नगरपालिका–३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले भने,‘अझैसम्म गोली लागेको हो या होइन खुलेको छैन ।’

ज्यान मार्ने उद्योगमा आठ जनाको विरुद्धमा मुद्दा दर्ता भएको डीएसपी देवेन्द्र कुमार मल्लले बताए । ‘त्यसमध्ये दुई जना पक्राउ परिसकेका छन्,’डीएसपी मल्लले भने,‘फरार अन्यको खोजी भईरहेको छ ।’ ‘घाईते तिमिल्सिनाको अवस्था सामान्य हुदै गएको छ, गोली लागेको हो या होइन फरेन्सिक जाँचको लागि आज बुधबार कोहलपुर स्थित मेडिकल कलेजबाट नेपालगंज स्थित भेरी अस्पतालमा लगिएको छ,’उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय