राजश्व छली रोक्न सशस्त्र प्रहरीको चासो
बिहिबार, कार्तिक २८, २०८२ मा प्रकाशित

बर्दिया,कार्तिक २७(फरकसमाचार) / राजश्व छली नियन्त्रण गर्न सशस्त्र प्रहरीले चासो देखाएको छ । जिल्ला स्थित राजश्व छली नियन्त्रण गरि बढी राजश्व संकलन गर्न सशस्त्र प्रहरीले चासो देखाएको हो । पछिल्लो समयमा खुल्ला सीमा नाकामा सशस्त्र प्रहरीले कडाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गणका गणपति मान बहादुर शाहीको अध्यक्षतामा बुधबार भन्सार राजश्व छली सम्बन्धि अन्तरक्रिया गरिएको छ ।

खुल्ला सीमा नाकामा सशस्त्र प्रहरी २४सं घण्टा खटिरहेको गणपति शाहीले बताए । ‘खुल्ला सीमा भएकोले जताबाट पनि व्यक्तिहरुले अबैध काम गर्न खोज्छन्,’गणपति शाहीले भने,‘भन्सार छली सशस्त्र प्रहरीले एक्लै रोक्न रोक्न सक्दैन,त्यसको लागि आमनागरिकहरुको साथ सहयोग चाहिएको छ ।’

उक्त अन्तरक्रिया बैठकबाट भन्सार राजश्व छली नियन्त्रणको लागि ८ बुँदे निर्णयसमेत गरिएको छ । सरोकारवाला निकायहरुको समन्वयमा सीमा क्षेत्रको बजार अनुगमन गर्न पहल गर्ने, सीमा क्षेत्रका व्यापारी तथा नागरिकलाई अनलाइन व्यापार, भन्सार राजश्व छली, अबैध कारोबार, अबैध व्यापार व्यवसाय समुहलाई निरुत्साहित गर्न सचेतनामुलक कार्यक्रम संचालन गर्ने, स्थानीय तहलाई अबैध गतिविधि नियन्त्रणमा आवश्यक सहयोगको लागि अनुरोध गर्ने, करको दायरा भन्दा बाहिर रहेका व्यापारीलाई करको दायरामा ल्याउन पहल गर्ने, दर्ता नभएका व्यवसायलाई कानुनी कारवाहीको लागि सम्बन्धित निकायसंग समन्वय गर्ने, बिना बिल विजकका सामान खरिद र बिक्री नगर्न व्यापारीलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा भन्सार, करदाता सेवा कार्यालय, उद्योग वाणिज्य संघ र एग्रोभेटका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
विसं २०८० फागुन देखि २०८१ कार्तिकसम्म रु २१ लाख २९ हजार ३ सय ३८ र विसं २०८१ फागुन देखि २०८२ कार्तिक २५ गतेसम्म रु १८ लाख ३४ हजार ४ सय १३ बराबरको भन्सार छली अबैध रुपमा ल्याईएका सामान बरामद गरि आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गण सुरजपुरको तथ्यांकले पुष्टि गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय