अभिनव कुमार पाठक
बर्दिया, मंसिर २४/ राजापुरमा गोली लागेर युवकको मृत्यु भएको घटनामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना स्थलबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।
तीन जनालाई नियन्त्रणमा लिई सोधपुछ भईरहेको छ भने घटनाको मुख्य आरोपी दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीर चौधरी रहेको तथ्य
फेला परेको प्रहरीले जनाएको छ । ‘राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारु रेष्टुरेन्टका संचालक रामकुमार चौधरीसहित बुद्धि चौधरी र राहुल चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ भईरहेको छ,’जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले भने,‘घटनाको मुख्य आरोपीको खोजी भईरहेको छ ।’
आइतबार बिहान ८ बजे हमार थारु रेष्टुरेन्टमा दाङ तुल्सीपुर उप–महानगरपालिका–५ का २७ वर्षिय निरज चौधरी अचेत अवस्थामा भेटिएका थिए । नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा चौधरीको मृत्यु भएको प्रहरीको दावी छ ।
मृतक चौधरीको दुवै कान मुनी प्वाल देखिएको छ । गोली लागेर चौधरीको मृत्यु भएको आशंका गरिएको छ । घटना कसरी भयो अझै खुलेको छैन । उनको शव पोष्टमार्टम लागि नेपालगन्जमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

