मैले लेखेका हर प्रकाशीत लेखहरु र फेसबुक स्टाटस पढ्ने एकजना भाइ रहेछन । उनले पढ्ने तर प्रतिक्रिया भने नदिने । उनले इनबक्स मेसेजमा लेखे । उनले लेखे ” दादा ! भ्रस्टाचारको खास कारणबारे लेख्नुस न ! ” उनकै लागि आज म लेख्दै छु ।
सम्झना न.१
कहाँ आजको कुरा हो र ? लगभग दश बर्ष अघिको कुरा हुनुपर्छ । म भर्खर/भर्खर गुलरिया आएको थिए । गुलरिया चिन्दै थिए भन्नुपर्छ । गाउँको मानिस आउँदा खुसी लाग्छ । मानिस आयो , आफ्नो आयो जस्तै लाग्ने । उ आयो त ! मलाई बोकेको मानिस । मलाई घुमाएको मानिस । मलाई हलो जोत्न सिकाएको मानिस । मलाई लडिया हाक्न सिकाएको मानिस । मलाई कुलो खन्न सिकाएको मानिस । मलाई बेगारी सिकाएको मानिस । मैले उसबाट जीवन सिके । उत्पादन प्रणाली सिके । काम सिके । अझ भनु माटो सिके । उ मेरो “गुरु ” हो जिवनको । मेरो औलामा आजपनि उसको प्यार छ । जिब्रोमा उसैको स्वाद । आखामा उसकै सुन्दरता । आयो ।
उ फेरि सिधै म सङ्ग आएको पनि होइन । बा सङ्ग गएछ पहिला । बा , हुनुहुन्छ र त म छु । नत्र मेरो अस्तित्व त शून्य बराबर हो । बा ले म सङ्ग पठाउनु भएछ । उसैले भनेको ।
कुरा ठूलो थिएन । उनिहरु दुई भाइ घर छुट्टिएछन । सम्पत्ती बाड्नु पर्ने । आ-आफ्नो पुर्जा बनाउनु पर्ने । पतृक सम्पत्ति बाड्नुपर्ने । बास ।
उनले भने । ठूलो कुरा केही भएन । मैले त्यही काम गर्ने मानिस बोलाए । मेरै साथी थियो उ । उनी आए । उनले सबै लिखत तयार गरे । मालपोत अफिस लिएर गए उनलाई । उनको काम फाइनल भयो । पुर्जा तयार । खाजा आफै खुवाए । बस चढाए घर पठाइदिए । उनको खर्च भएन ।
उनको दाइ ! आएछन । आए , वकिल फेटे । दलाल भेटे । बिचमा सबै काम गर्दा लगभग रु छ हजार खर्च नि गरेछन । उनको नि बनेछ पुर्जा ।
अर्को दिन , बिहानै घरको गेट बज्यो । म त सुतेकै थिए । बड्डीले उठाइन । मानिस आएको छ खोज्दै ! उठ्नुस ! सिरक पो फाल्दिन्छिन त ! म उठे । बाहिर गए । हेर्छु । त्यही मानिस आएको छ जसको पुर्जा तयार बनाएर मैले पठाएको थिए ।
अब उनले कुरा शुरु गरे – ” बाबू , मोर काम पक्का नाइहुइल जैसिन लागल , दादा उहाँ छ हजार खर्च करल हु , म्वा त कुछु नाइहुइल जे । मै बरु दस हजार खर्च करम मोर काम पक्का होए परल “अब म सङ्ग उसलाई बुझाउन सक्ने कुनै शब्द छैन । ” आप्न चिया पिइ ” एत्ति मैले भने । उ टेन्सनमा छ । उसलाई बिस्वास नै छैन उसले पाएको पुर्जा सही हो भन्ने । किनकी उसले यत्ति मात्र बुझेको छ कि पैसा नतिरी भएको काम सही , सत्य र बैध हुदैन ।
सम्झना न . २
अफिसकै कोठा न . ७ । लगभग बीस बर्ष भएहोला म कोठा न .७ मै छु । न. ७ ले न मलाई छोड्यो न उसलाई मैले । घटना सात बर्ष अघिको हुनु पर्छ । एउटी बुढी मधेसी महिला कोठा भित्र छिरिन । जसको काम भर्खर मैले गरेर पठाएको छु । उनले बडो मुस्किलले आफ्नो गटियाको गाठो खोलिन । बीस रुपैया भारु निकालिन र मेरो टेबलमा राखिन । ” बाबू ! हाकिम साब , बास इत्नै है । रखो । काम तो पक्का हुना नै ? ” काम उनको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको कार्ड नबिकरण को थियो । हजुर आमा समान मानिस । दुई आखाबाट आँसु झार्नु बाहेक मैले भन्ने शब्द केही थिएन त्यहाँ । म उठे र जहाँबाट उनले बीस भारु निकालेकी थिइन त्यही बाधिदिए । अनि भने ” आपके काम बिल्कुल पक्का है , आप जाइए “कैयौ सम्झना छन यस्ता । लेखिसाध्य छैन । यी मात्र प्रतिनिधि मुलक सम्झना हुन ।
भ्रष्टाचार सस्कृतिको रुपमा बिकास भएको छ । पैसा नतिरी हुने काम पक्का हुदैन भन्ने मानसिकता जनजनमा छिराइएको छ । यो मात्र घटनाको रुपमा छैन एक सस्कृती बनाइएको छ । सस्कृती निकै लामो अभ्यास पछि मात्र बन्छ । हाम्राले सस्कृति नै भ्रष्ट बनाएका छन । त्यही सस्कृती अब हामीले भत्काउनु पर्छ ।
“Protestant Ethic and the Spirit of Capitalism” र “Fatalism and Development” भन्ने किताब पढ्ने हो भने नेपालमा हुने भ्रष्टाचारको कारण सहजै बुझ्न सकिन्छ । भ्रष्टाचार कहाँ र किन कति मात्रामा भयो भन्नु भन्दा पनि यस्तो सस्कृती किन र कसरी बिकसित भयो भन्नू महत्वपूर्ण कुरा हो ।
यद्यपि अख्तियारले प्रत्येक पाँच वर्षमा गर्ने नेपालको भ्रष्टाचार र सुशासनको अवस्था सम्बन्धी अध्ययन २०७५ सालपछि गरेको छैन ,२०७५ को सर्वेक्षणमा १,६६८ उत्तरदातामध्ये ५५२ जना अर्थात् ३३ प्रतिशतले काम सम्पन्न गर्न अतिरिक्त दस्तुर अर्थात् घुस बुझाएको बताएका थिए। सो तथ्यले नेपालमा भ्रष्टाचारको स्थिति कति डरलाग्दो छ भन्ने आकलन गर्न सकिन्छ।
त्यस्तै यसले सार्वजनिक सेवा लिने करिब ३३ प्रतिशत नागरिकले आफ्नो वैधानिक काम गराउन गैरकानुनी भुक्तानी गर्न बाध्य भएको प्रत्यक्ष अनुभव देखाएको प्रस्तुत गरेको छ । यसले भ्रष्टाचार केवल उच्च पदस्थ व्यक्तिको अनियमितता मात्र नभई संस्थागत बेथितिका रूपमा सामान्य जीवनमा समेत जकडिएको प्रमाणित गरेको छ । हरेक तेस्रो सेवाग्राहीले घुस तिर्नुपर्ने अवस्थाले सार्वजनिक सेवामाथिको विश्वास गुमेको र सुशासन स्थापना गर्ने निकायहरूको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ । यो केबल प्रक्रियागत कुराले भएको होइन यससङ्ग निर्माण गरिएको सस्कृती जोडिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्ता भएका २५ हजार १५२ वटा उजुरीको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा बढेर ३७ हजार २६ पुगेको छ । यो तथ्यांकले पाँच वर्ष अवधिमा उजुरी संख्या करिब ४७.१७ प्रतिशत वृद्धि भएको देखाउँछ।
त्यसैले भनिन्छ, नेपालमा भ्रष्टाचार पनि विकेन्द्रीकरण भएको छ।
महालेखा परीक्षकको कार्यालयको ६२ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म कारबाही गरी टुंगो लगाउनुपर्ने कुल बेरूजु ७३३.१९ अर्ब रूपैयाँ पुगेको छ। एक वर्षमा मात्र अद्यावधिक बेरूजु ९.४५ प्रतिशतले बढेको छ।
२०७९/८० सम्म ६७० अर्ब रूपैयाँभन्दा बढी रहेकामा २०८०/८१ सम्म ७३३.१९ अर्ब रूपैयाँ पुगेको छ।यसले सार्वजनिक खर्चमा अनियमितता र जबाफदेहिताको अभाव उजागर गर्छ। यो नेपालको बेरूजु सुशासनको ठूलो कालो धब्बा हो।
ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसिया प्रतिवेदन २०२० अनुसार सर्वेक्षणमा सहभागी ५८ प्रतिशत नेपालीले सन् २०१९ को तुलनामा देशमा भ्रष्टाचार बढेको विश्वास व्यक्त गरेका छन । लाजमर्दो कुरा त यो तथ्यांक एसियाका १७ देश र क्षेत्रमध्ये सर्वाधिक हो ।
सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले १०० मा ३४ अंक प्राप्त गरेको थियो। विश्वमा ११३औं स्थानमा थियो। यसको तुलनामा, सन् २०२४ को प्रतिवेदनमा नेपालको अंक १ ले घटेर ३३ मा झरेको छ र ११७ औं स्थानमा पुगेको छ।
यसरी पाँच वर्षमा नेपालको अंक ३४ बाट ३३ मा झर्नुले अन्तर्राष्ट्रिय समुदाय र विभिन्न सर्वेक्षण गर्ने संस्थाहरूले नेपालको सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारको अवस्थामा सुधार नभई बढेको देखाउँछ।
यी सबै तथ्यांकहरुले नेपालमा भ्रष्टाचार एक परिदृष्यको रुपमा मात्र नभई एक सस्कृतिको रुपमा मौलाएको देखाउछ । सस्कृतिको रुपमा यानिकी एक स्वाभाबिक र स्वीकृत रुपमा । यो सबैभन्दा खतरनाक हो । तथ्यांक आफैमा महत्वपुर्ण कुरा होइन तर सस्कृती महत्वपुर्ण र संबेदनसिल कुरा हो । तसर्थ पनि भ्रस्टाचार हामीकोमा बढी संबेदनसिल छ । किनकि यो एक सस्कृतिको रुपमा विकसित भइरहेको छ ।

