जिउँदो छँदा नागरिकता नपाएकी अञ्जुको मृत्युदर्ता
शुक्रबार, मङि्सर २७, २०८२ मा प्रकाशित

बर्दिया,मंसिर २६/ विभेदका कारण नागरिकता र पतिबाट अंश नपाएकी बर्दिया बढैयाताल–४ की २२ वर्षीया अञ्जु थारूको मृत्यु दर्ता भने भएको छ । यस्तै उनकी सात वर्षीया छोरी अनिता थारूको पनि बुधबार जन्मदर्ता प्रमाणपत्र बनेको छ । अब अनिताले उमेर पुगेपछि नागरिकता र बाबुको जायजेथाबाट एकतिहाइ अंशसमेत पाउने भएकी छन् । पतिबाट उपेक्षित अञ्जुले अदालतमा अंश मुद्दा दायर गरेकी थिइन् । अदालतले अंश पाउने फैसला गरेको थियो तर नागरिकता नहुँदा उनले अंश पाउन सकिनन् ।

वडा र जिल्ला प्रशासनले उनलाई नागरिकता दिन मानेनन् । छोरी अनिताको जन्मदर्ता गर्नसमेत अस्वीकार गरे । नागरिकता पाउन नसकेर २२ कात्तिकमा अञ्जुले घरमै आत्महत्या गरिन् भने सँगै न्यायको लडाइँमा संघर्ष गर्दै आएका उनका बाबु ६१ वर्षीय कान्छा थारूले पनि चार दिनपछि छोरीकै बाटो पछ्याए ।

अञ्जु र उनका बाबु कान्छाले मृत्युको बाटो रोजेको बारे समाचार प्रकाशित भएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो राख्दै निर्देशन दिएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले काम थालेकै दिन बुधबार अञ्जुको मृत्युदर्ता र अनिताको जन्मदर्ता भएको हो ।

अञ्जुको मृत्युपछि उनका श्रीमान् अनिल थारूविरुद्ध दुरुत्साहन मुद्दा दायर भई पक्राउ पुर्जीसमेत जारी भएको छ । अनिल अहिले फरार छन् । अनिलका बुबा प्रसाद थारू सूचक बसेर अनिताको जन्मदर्ता र अञ्जुको मृत्युदर्ता भएको हो । अदालतले अनिलले पाउने जायजेथाको तीन भाग लगाउने, अनिल, अञ्जु र अनिताले एक–एक भाग पाउने फैसला गरेको थियो । तर हाल अञ्जुको मृत्यु भइसकेकाले अनिताको मात्र अंश कायम हुने र उमेर पुगेपछि अनिताले अदालतले ठहर गरेबमोजिमको अंश पाउने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।

गृहका सहसचिव एवं छानबिन समितिका संयोजक सुरेश पन्थीको उपस्थितिमा ७ वर्षीया अनिताको जन्मदर्ता भएको हो । समितिका संयोजक पन्थी, सदस्यद्वय गृहका उपसचिव कुलशेखर अर्याल र बर्दियाका सहायक प्रजिअ अशोककुमार भण्डारी, प्रमुख जिल्ला अधिकारी हमाल, प्रशासकीय अधिकृत विमल गुरुङ र प्रहरी उपरीक्षक सरोज पौडेललगायतको टोली पुग्दा पीडित परिवारका सदस्यले न्याय पाउनेमा आशावादी भएको बताएका थिए ।

समितिले बुधबार पीडित परिवार र बढैयाताल–४ का वडाध्यक्ष नरे थापालगायतसँग छुट्टाछुट्टै भेटघाट गरी सोधपुछ गरेको छ । सोधपुछपछि अनिताको जन्मदर्ता र अञ्जुको मृत्युदर्ता वडाले बनाएर हस्तान्तरण गरेको थियो ।

भान्जी अनिताको जन्मदर्ता र नन्द अञ्जुको मृत्युदर्ता भएपछि सुमनकुमारी थारूले भनिन्, ‘न्याय पाउन ज्यान गुमाउनुपर्ने, यो कहाँको न्याय हो ? जिउँदो रहँदासम्म नागरिकता नपाएकी अञ्जुको आज सहजै मृत्युदर्ता बन्यो । नागरिकता नपाएर निराश हुँदै अञ्जुले आत्महत्या गर्न बाध्य भइन्, उनलाई त्यो स्थितिमा पुर्‍याउने जोसुकैलाई छानबिन गरी कारबाही होस् ।’

अञ्जु १४ वर्षकी हुँदा नै अनिलसँग प्रेम सम्बन्ध थियो । उनीहरूबीचको सम्बन्धले अञ्जु गर्भवती भएकी थिइन् । त्यसपछि अनिलले अञ्जुलाई मन्दिरमा लगेर विवाह गरी घर भित्र्याएका थिए, जतिबेला अञ्जु १५ वर्षकी थिइन् । २४ मंसिर २०७५ मा अञ्जुले छोरी जन्माएकी थिइन् । पतिको ज्यादती सहन नसकेपछि १४ पुस २०७६ मा अञ्जु छोरी बोकेर माइत फर्किएकी थिइन् । अनिलले सम्बन्ध अगाडि बढाउन नचाहेपछि अञ्जुले ८ माघ २०७६ मा अंश माग गर्दै जिल्ला अदालत बर्दियामा मुद्दा हालेकी थिइन् ।

अञ्जुबाट जन्मिएकी सन्तान आफ्नी छोरी नभएको जिकिर गरे पनि अदालतले डीएनए परीक्षण गर्न आदेश दिएपछि भने अनिल हच्किए, उनी तयार भएनन् । अदालतले दुवैको उमेर नपुगी विवाह भए पनि उजुरी नपरेको भन्दै विवाह बदर गरेन । जिल्ला अदालत बर्दियाबाट अञ्जुले अंश पाउने फैसला भयो । राष्ट्रिय मानवअधिकार आयोगले पनि नागरिकता प्राप्तिका लागि सरकारी संरचनामा भएको हेलचेक्र्याइँले बाबु–छोरीले आत्महत्या गर्नुपरेको विषयलाई अध्ययन गरिरहेको छ ।स्रोत ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर