बर्दिया, पौष २ (फरकसमाचार) / विद्याज्योति माध्यमिक विद्यालयमा स्वर्ण महोत्सव आयोजना हुँदैछ । बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थित रहेको विद्याज्योति माविमा स्वर्ण महोत्सव आयोजना हुने भएको हो । विद्यालयले मंगलबार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सवमा संचालन हुने विविध कार्यक्रम सार्वजनिक गरेको छ । विस २०३२ सालमा स्थापना भएको विद्याज्योति मावि पुस १७ गते ५० वर्ष पुरा हुदैछ ।
पुस ४ गते आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ, ६ देखि ८ गतेसम्म माध्यमिक विद्यालय स्तरी भलिबल प्रतियोगिता, ९ गते मावि स्तरीय हाजिरी जावफ, १० देखि १३ गतेसम्म विविध खेलकुद र १४ गते विविध सांस्कृतिक, १५ गते खाद्य महोत्सव, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने १६ गते पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु पुर्व विद्यार्थी मिलन तथा बृहत अभिभावक भेला अनुभव आदान प्रदान र सम्मान पत्र वितरणको कार्यक्रम छ । यस्तै पुस १७ गते मुल स्वर्ण महोत्सव समारोह समुद्घाटन, स्वर्णस्तम्भ र सरस्वती मन्दिर अनावरण, स्वर्ण स्मारिका विमोचन, दाता सम्मानको कार्यक्रम छ भने १८ गते ५१औं वार्षिकोत्वस र विविध पुरस्कार वितरणको कार्यक्रम सार्वजनिक गरिएको छ ।
स्वर्ण महोत्सवलाई भव्य रुपमा सफल बनाउन यस विद्यालयसंग जोडिएका सबै जना सहभागी हुन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त सिंह ठकुरीले आग्रह गरे ।
पौष १७ सम्म स्वर्ण महोत्सवको अन्तिम समारोह आयोजना गर्ने र पौष १८ गते विद्यालयको ५१औं वार्षिकोत्सव भव्य रुपमा मनाउँने तयारी रहेको प्रधानाध्यापक भक्ति सागर रेग्मीले बताए । ‘विद्यालय ५० वर्षको अवधिमा कसरी यहाँसम्म आईपुग्यो यो विद्यालयसंग जोडिएका पुर्व विद्यार्थी,शिक्षक,विद्यायलय व्यवस्थापन समितिका पदाधिकारीहरु स्वर्ण महोत्सवको अवसरमा जम्मा भएर अन्तरक्रिया गर्दा नयाँ पुस्ताले विद्यालयको विकासक्रम बारे जानकारी पाउनेछन्,’प्रधानाध्यापक रेग्मीले भने,‘विद्यालयको दीर्घकालीन शैक्षिक विकासका लागि अक्षयकोष स्थापनाको लागि धेरै भन्दा धेरै पुर्व विद्यार्थीहरुलाई जोड्न खोजेका छौं, अक्षयकोष स्थापनाको लागि करिब ५० जनाले एक लाख भन्दा बढी रकम सहयोग गर्ने अनुमान छ, हालसम्म १३ जनाले अक्षयकोषको लागि रकम हस्तान्तरण गरिसकेका छन् ।’ यस्तै स्वर्ण महोत्सवको लागि पुर्व विद्यार्थी र सहयोगीदाताहरुबाट करिब रु ३० लाख उठ्ने र रु १५ लाख खर्च हुने आयोजकको अनुमान छ । बचेको रकम पनि अक्षयकोषमा जम्मा गरिने जनाईएको छ ।

