बर्दिया, पौष ९(फरकसमाचार)/ एक वर्षमा मानव अधिकार उल्लंघनका ९७ घटना घटेका छन् । इन्सेक बर्दियाद्वारा मंगलबार आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि संकलित घटनाहरुको वार्षिक समिक्षा कार्यक्रममा मानव अधिकार उल्लंघनका ९७ घटना घटेको प्रस्तुती गरिएको हो । वार्षिक समिक्षामा सन् २०२५ जनवरी १ देखि डिसेम्बरको हालसम्म मानव अधिकार उल्लंघनका घटना संकलन गरिएको इन्सेकले जनाएको छ ।
जसमा बालिका बलात्कार १९, बालिका यौन दुव्र्यवहार १०, महिला बलात्कार ९, महिला यौन दुव्र्यवहार १, अपहरण २, हत्या २, घरेलु हिंसा ४३, सरकारी कार्यालय तोडफोड १ र अभद्र व्यवहार कुटपिटका १० गरि जम्मा ९७ घटना घटेको इन्सेक बर्दियाका प्रतिनिधि प्रकाश पौडेलले बताए ।
‘पहिला भन्दा अहिले मानव अधिकार उल्लंघनका घटना बाहिरिएर सम्बन्धित निकायमा दर्ता भईरहेको सकारात्मक पक्ष हो,’नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले भने,‘यसरी घटना दर्ता भएर सहजै तथ्यांक उपलब्ध हुँदा रिपोटिङको लागि पत्रकारलाई सहज भईरहेको छ ।’
मानव अधिकार उल्लंघनका घटना समाजमा ढाकछोप गरि मिलाउन खोज्दा सबै घटना बाहिर आउन समस्या भईरहेको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए । ‘समुदायस्तरमा सचेतना मुलक कार्यक्रम गरि यस्ता घटना बाहिर ल्याउनुपर्छ,’प्रजिअ हमालले भने,‘मानव अधिकार उल्लंघनका घटना न्युनिकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सघाँउन आवश्यक छ ।’
वार्षिक समिक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, अदालतका श्रेस्तेदार कमल घले, सहायक जिल्ला न्यायाधिवक्ता बुद्ध बहादुर थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरे, नागरिक समाज संजालकी संयोजक हेमा सुनारलगायत संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

