बर्दिया,पौष १८ (फरकसमाचार) / उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र (मंगल) पाण्डेको परिवारद्वारा विद्यालय हाताभित्र चिटिक्कको सरस्वती मन्दिर निर्माण गरिएको छ । बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थित विद्या ज्योति नमुना माध्यमिक विद्यालयको हाताभित्र पाण्डे परिवारले चिटिक्कको सरस्वती मन्दिर निर्माण गरी बिहीबार विद्यालयको ५०औं स्वर्ण महोत्सवको अवसरमा समुद्घाटन एवंम् हस्तान्तरण गरेको हो ।
नवनिर्मित सरस्वती मन्दिरको बिहीबार देवेन्द्र पाण्डे,उनकी आमा याम कुमारी पाण्डे, दाई सोम पाण्डे र लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए ।

स्वर्गिय पिता केशव पाण्डे र कान्छो भाई स्वर्गिय विष्णु पाण्डेको स्मृतिमा विद्यालय हाताभित्र सरस्वती माताको मुर्तिसहित मन्दिर निर्माण गरिएको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र (मंगल) पाण्डेले बताए । ‘मेरो बुवा विगतमा यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर लामो समयसम्म योगदान गर्नुभयो,’अध्यक्ष पाण्डेले भने,‘उहाँको स्मृतिमा हाम्रो परिवारले यस विद्यालयमा मन्दिर निर्माण गरेको छ ।’
रु ७ लाख ५५ हजारको लागतमा पाण्डे परिवारले विद्यालय हाताभित्र चिटिक्कको सरस्वती मन्दिर निर्माण गरेको छ । यस अघि विद्यालयमा सरस्वती मन्दिर थिएन । विद्यालयमा सरस्वतीको मन्दिर बनेपछि विद्यालय परिवार खुसी भएको छ ।

