लालपुरमा चल्यो गोली, लागुऔषध कारोबारी नियन्त्रण
बुधबार, पुष २३, २०८२ मा प्रकाशित

फरकसमाचार, बर्दिया, पौष २३ / लागुऔषध कारोबारीलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका–११ लालपुर स्थित लागुऔषध कारोबारीलाई बुधबार प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । लागुऔषध खैरो हेरोइनको खरीदबिक्री भइरहेको भन्ने सूचनाका आधारमो गुलरिया नगरपालिका–११ लालपुर स्थित फिरोज खान फेला पारेको थियो । कानुनबमोजिम चेकजाँच गर्न खोज्दा खान भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो । एक राउन्ड खानको दाहिने खुट्टामा लागेको र गोली लागेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार खानले लगाएको पाइन्टको दाहिने खल्तीभित्र लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध खैरो हेरोइन बरामद गरिएकोे हो । बरामद गरिएको खैरो हेरोइनको २ सय ६६ ग्राम ५ सय ६० मिलिग्राम रहेको साथै घटनास्थलबाट थान–३ मोबाइल फोनसमेत बरामद भएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौँका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाको निर्देशनमा तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जका शाखा प्रमुख असई नवीनकुमार शाहीको नेतृत्वमा खटिएको टोलीले उक्त कारबाही गरेको हो । घाइते अवस्थामा पक्राउ परेका खानलाई आवश्यक उपचारपछि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय