बर्दिया,पौष ३०/पुस २३ गते साँझ लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । प्रहरीले गोली चलाएर गुलरिया नगरपालिका–११ लालपुरस्थितबाट लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिन सफल भयो ।
लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बाँके र बर्दिया प्रहरीको संयुक्त टोलीले भारत उत्तर प्रदेश जिल्ला बहराइच थाना मोतिपुर ग्राम लौकाहीका ३३ वर्षीय फिरोज खानलाई नियन्त्रणमा लिएको थियो ।
खानको साथबाट २ सय ६६ ग्राम ५ सय ६० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थसहित नियन्त्रणमा लिई अदालतबाट २० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पुस ५ गते बाँसगढी नगरपालिका–३ का २८ वर्षीय कृष्ण खत्रीलाई १० ग्राम ८० मिलिग्राम लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लियो। यस्तै पुस महिनामा २ सय ७९ ग्राम ९ सय ७० मिलिग्राम लागुऔषधसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागुऔषध न्यूनीकरणको लागि पुसमा ३५ वटा सचेतनामूलक कार्यक्रमबाट १ हजार ४ सय ९ जना लाभान्वित भएको जिल्ला प्रहरीले जनाएको छ । चालु आर्थिक वर्ष ०८२÷०८३ को साउनदेखि हालसम्म लागुऔषधसहित १ सय ३० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीको तथ्यांकले देखाएको छ ।
लागुऔषध अपराधमा संलग्नलाई सजायको दायरामा ल्याइरहेको प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । ‘लागुऔषध न्यूनीकरणका लागि प्रहरीले सक्दो काम गरिरहेको छ,’प्रहरी उपरीक्षक पौडेलले भने,‘समयमै सूचना आएमा अपराध कन्ट्रोल गर्न सकिने हुँदा सर्वसाधारणको साथ सहयोगको खाँचो छ ।’
आर्थिक वर्ष ०७९/०८० मा ५६, आर्थिक वर्ष ०८०/०८१ मा १ सय २४ र आर्थिक वर्ष ०८१/०८२ मा १ सय ३६ लागुऔषध अपराधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार जिल्लामा लागुऔषध अपराधको मुद्दा प्रत्येक बढ्दो रहेको छ । सिमावर्ती भारतीय बजारमा लागुऔषध सहजै पाइने भएकोले न्यूनीकरणमा चुनौती देखिएको छ । स्रोत ईकान्तिपुर

