सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गर्न आग्रह
शुक्रबार, चैत ०७, २०७६ मा प्रकाशित

दमौली, चैत ७ : जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सचेतना अपनाउन सबै स्थानीय तहलाई विपद् व्यवस्थापन कोष स्थापना गर्न आग्रह गरेको छ ।

 

समितिको विहिबार सम्पन्न बैठकले जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरी आवश्यक रकम कोषमा जम्मा गर्न आग्रह गरेको हो । कोरोना भाइरसको संक्रमणबाट स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गर्दै समितिले सबै स्थानीय तहमा सहायता कक्ष सञ्चालन गर्न अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए । व्यास नगरपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरी उक्त कोषमा पाँच लाख बजेट विनियोजन गरिसकेको छ ।

 

बैठकले जिल्लामा हुन सक्ने विपद्को तत्काल सम्बोधन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा प्रहरी नायब उपरीक्षक लीलाराज लामिछाने, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवजी बराल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण ढकाल, नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति कृष्णहरि वाग्ले, नेपाल पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्य, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ र उपभोक्ता मञ्चका अध्यक्ष चयन भएको छ । उक्त समितिको सदस्य सचिवमा जनस्वास्थ्य अधिकृत तोकिनुभएको छ ।

 

जिल्लाको आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले भने पालिकास्तरीय दु्रत प्रतिकार्य टोली गठन गरिसकेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न कोरोना भाइरससम्बन्धी सतर्कता अपनाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विशेष सरसफाइमा ध्यान दिन जनचेतना अभिवृद्धि गराउने, कालोबजारी नियन्त्रण गर्ने, भीडभाड हुन नदिने निर्णय बैठकले गरेको छ ।

 

गृहमन्त्रालय विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनःलाभ शाखाको खुल्ला क्षेत्रसम्बन्धी र शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको रवरबोट तथा दमकलको व्यवस्थासम्बन्धी पत्रबारे समितिमा छलफल गरी विपद् व्यवस्थापनमा सबै जिल्ला व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई पूर्वतयारीको अवस्थामा राख्ने निर्णय गरिएको छ ।

 

साथै कुनै पनि कर्मचारीलाई अति आवश्यक अवस्थामा बाहेक बिदामा जिल्ला नछोड्न जिल्लास्थित सरकारी कार्यालयलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर