म्याग्दि, चैत ९ : कोरोना भाइरस (कोभिड(१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि सदरमुकाम बेनीको एक निजी विद्यालयको भवनलाई क्वारेन्टाईन बनाईने भएको छ । बेनी नगरपालिका–८ हिलसाईडमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको भवनमा रहेको १० वटा कोठामा बेनी अस्पतालले क्वारेन्टाईन बनाउने भएको हो ।
विद्यालयले सामाजिक उत्तरदाहित्व अन्तरगत हाल खाली अवस्थामा रहेको ३३ वटा कोठा भएको भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने दिने निर्णय गरेको विद्यालयका अध्यक्ष चन्द्रकुमार केसीले जानकारी दिए । पर्खाल लगाइएको अवस्थामा सुरक्षित रहेको भवनमा शौचालय, खानेपानी लगायतको सुविधा रहेको छ ।
१० वटा कोठामा कम्तिमा ३० देखि ४० जनासम्म विरामीलाई राख्ने क्षमता भएपनि तत्कालभवनलाई मर्मत सम्भार र रङरोगन गरी पाँचकोठामा १० बेड राखिने छ । बेनी नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी,शस्त्र प्रहरी,म्याग्दी उद्योग वाणिज्य संघ र बेनी अस्पतालका प्रतिनिधिहरु सम्मिलित वैठकको निर्णयले म्याग्दी तथा आसपासका क्षेत्रका बिरामीलाई लक्षित गरी छुट्टै अस्पताल बनाउन लागिएको बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले बताए ।
क्वारेन्टाइनमा प्रवेश गर्नेलाई समेत कडा निगरानीमा राखिने छ । दैविक प्रकोप उद्वार समिति व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्लाभित्र भित्रिने यात्रुलाई चेकजाँच सहित आवश्यक परेमा स्थानमा हेल्थ डेस्क समेत राख्नुपर्ने बताए ।
माउण्ट एभरेष्ट आवासीय माविको मुख्य विद्यालयको भवन महारानी थानमा रहेको छ भने शिक्षा मार्ग, हुलाक चोकमा समेत विद्यालयको भवन सहित पठनपाठन हुने गरेको छ । विद्यालयले भवन उपलब्ध गराएपछि क्वारेन्टाइनको समस्या समाधान भएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।