डोटी, चैत ९ : नयाँ वर्ष नजिकिँदै गर्दा कामका लागि छिमेकी मुलुक भारत तथा देशका विभिन्न ठाउँमा गएका सुदूरपश्चिमेली धमाधम घर फर्किन थालेका छन् । नयाँ वर्षलाई सुदूरपश्चिमका स्थानीयवासीले बिसुपर्वका रूपमा मनाउने गर्दछन् ।
कामका लागि भारतको पञ्जाब शहर गएका जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँका स्थानीय काले लुहार अहिले आफ्ना घरपरिवारसँगै बसेर बिसु मनाउन हालै घर फर्किएको बताए । उनले भने, ‘वर्षभरि अर्काको देशमा बसेर काम गरियो, अहिले बिसुजस्तो पर्वलाई त छाड्नुभएन त्यसैले परिवार लिएर घर आएको छु ।’
उनीजस्तै कामका लागि जिल्ला बाहिरिएका सयौँ डोटीसहित सुदूरपश्चिमेली अहिले आ–आफ्ना घर आउन थालेका छन् । परदेश गएका अहिले गाउँघरमा आउन थालेपछि अहिले यहाँका गाउँघरमा दशैँको बेलाजस्तै रौनकता छाएको बोगटान फुड्सिल गाउँपालिका–१ का तिलक बोगटीले बताए ।
उनले भने, ‘बिसु मनाउन आएकाहरूका कारण बजारभन्दा पनि अहिले गाउँममा निकै चहलपहल छ ।’ बिसुपर्व मान्न घर फर्किनेमा अधिकांश सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, बाजुरा, अछाम, डडेल्धुरा, दार्चुला र डोटीका कामको खोजीमा छिमेकी मुलुक भारत तथा अन्य देशमा गएकाहरू बढी छन् ।
ट्राफिक प्रहरी चौकी बुडरका प्रमुख भरत शाहीका अनुसार दैनिक सयौँको संख्यामा भारतका विभिन्न शहरमा काम गरी बिसुका लागि सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीय युवा आ–आफना घर फर्किरहेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) का कारण भारतलगायतका देशका विभिन्न ठाउँमा रहेका नेपाली काम गर्ने ठूला कम्पनी धमाधम बन्द हुन थालेका कारण सुदूरपश्चिमेली अहिले आ–आफना घर फर्किन थालेको बताइएको छ ।
बिसु मनाउन यहाँका स्थानीयवासी घर फर्किन थालेपछि यात्रुको चाप एकाएक निकै बढेकाले यहाँका पहाडी क्षेत्रका प्रत्येक रुटमा दुई वटा गाडी थप गरिएको सुदूरपश्चिम बस व्यवसायी समिति धनगढीले जनाएको छ ।
यतिमात्र नभई यात्रुको चापका कारण यहाँका पहाडी क्षेत्रका होटलजस्तै डडेल्धुरा र दिपायलका होटलमा यात्रुले खचाखच भरिन थालेको होटल व्यवसायी संघ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले जानकारी दिए । उनले भने, ‘बिसु पर्व मनाउने भारत गएका आउन थालेपछि जिल्लाका होटल भरिभराउन हुन थालेका छन्, होटल व्यवसायीको पनि आम्दानी बढेको छ ।’
सुदूरपश्चिमका पहाडी जिल्लामा गौरा र दशैँ पर्वपछिको एक महत्वपूर्ण पर्व बिसुलाई मानिने भएकाले पनि यहाँका स्थानीयवासी बढीजसो आ–आफनो घर फर्किने गरेको जोरायल गाउँपालिका–५ गडसेराका मोहनबहादुर पातलीले बताए ।
उनले भने, ‘दशैँभन्दा पनि यहाँका गाउँमा बिसु र गौरापर्वलाई बढी महत्व दिइने भएकाले यो बेला घर नआउने त कोही हुदैन ।’ बिसुपर्वका लागि गाउँमा नयाँ लुगा किन्नेको पनि अहिले भीड लागेको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीय व्यापारी चेतबहादुर विष्टले बताए । यहाँका तराईका जिल्लाभन्दा पनि पहाडी जिल्लामा बिसुपर्वलाई बढी महत्व दिएर धुमधामका साथ मनाइने गरिन्छ ।