झुलाघाटमा दुई सय नेपाली अलपत्र
शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित

बैतडी, चैत १४ : भारतबाट फर्किन लागेका दुई सय जना नेपाली नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन् । गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन् ।

बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोला, घर भएका गजेन्द्र भट्टले आफुहरू तीन दिनदेखि झुलाघाटमा अलपत्र अवस्थामा रहेको बताए । भट्टले भारतमा पनि लकडाउन भएका कारण भारतीय प्रहरीले समेत आफूहरूलाई देख्ने बितिक्कै कुटपिट गर्ने गरेको गुनासो गरे ।

सोही ठाउँकै निवासी रमेश भट्टले भारतीय प्रहरीले देख्ने बितिक्कै कुटपिट गरिरहेकोले आफूहरू एउटा होटेलको कुनामा लुकेर बसेको जानकारी दिए । अलपत्र परेका नागरिक भारतीय प्रहरीको डरले, महाकाली नदीे किनारको जंगलमा लुकेर बसेका छौं’, उनले भने ‘भारतमा लकडाउनका कारणे होटलहरू बन्द रहेकोले तीन दिनदेखि भोकभोकै बाहिरै सुत्ने गरेका छौं । उनीहरू भोकभोकै जंगलमा खुल्ला सुत्नुपर्दा झन् बिरामी भइने चिन्ता थपिएको छ । यस्तो अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय तथा जनप्रतिनिधिहरूले आफूहरूलाई नेपाल पुर्याउन केही पहल नगरेको भन्दै उहाँहरूले आक्रोस व्यक्त गर्नुभएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने भारतको झुलाघाटमा अलपत्र नागरिकको उद्धारका लागि पहल थालिरहेको बताएका छन् । दुई दिनदेखि भारतको पिथौरागढ जिल्लाका प्रमुख अधिकारी (डिएम) लाई बन्द गरिएको नाका खोल्न आग्रह गरिएको बताए ।

जिल्ला प्रशासन कार्यालय बैतडीले दुबै देशले सीमा नाका बन्द गरेकोले कुनै एक देशले चाहेर मात्रै नाका खोल्न सम्भव नभएको जनाएको छ । बन्द नाका खोल्नका लागि ढिलाई हुँदा धेरै नागरिक असुरक्षित रूपमा महाकाली नदीमा ट्युबको सहायताले नेपाल फर्केका पाइएको छ् ।

६४ जनाको उद्धार

‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ । बैतडीको एकमात्र नाका झुलाघाट बन्द भएपछि ट्युबको सहायताबाट नेपाल आएका उनीहरूको उद्धार गरिएको हो ।

खोचलेक प्रहरी चौकीका इञ्चार्ज शंकरदत्त भट्टले दोगडाकेदार गाउँपालिका, खोचलेक प्रहरी चौकी र दोगडाकेदार गाउँपालिका वडा नं ४ को संयुक्त पहलमा उनीहरूरुको उद्धार गरिएको जानकारी दिएका छन् । महाकाली नदीमा ट्युबवाट आएका बझाङ, डोटी र बैतडीको सिगासका स्थानीय बासिन्दाको उद्धार गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

‘लक डाउनपछि नेपाल छिरेका नागरिकहरू दोगडाकेदार गाउँपालिका ४ को बसाली क्षेत्रमा अलपत्र परेका थिए । ४२ जनाको बुधवार राती २२ जनाको बिहीवार उद्धार गरिएको छ । दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले उनीहरूलाई जीप, टिपर र ट्रकमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाईएको उद्धार गरिएका उनीहरूलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने जानकारी दिए । स्थानीय प्रशासनले ‘लक डाउन’का बेला असुरक्षित रूपमा ट्युबको माध्यमबाट नआउन आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर