पुराना सामानबाट स्यानिटाइजर टनेल
शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

बलेवा, वैशाख २० : बागलुङका केबल टिभी नेटवर्कका व्यवसायी सञ्चालक राजकुमार श्रेष्ठ र मनोजकुमार श्रेष्ठले पुराना इलेक्ट्रोनिक सामानको प्रयोग गरेर पूरै शरीरमा स्यानिटाइजर छर्किन सक्ने स्वचालित मेसिन निर्माण गरेका छन् । उनीहरुले निर्माण गरेको टनेल शुक्रबार धवलागिरि अस्पताललाई हस्तान्तरण गरिएको छ ।

अस्पतालमा बिरामी र सर्वसाधारणको चाप बढी हुने भएकाले कोरोना सङ्क्रमण न्यूनीकरणका लागि अस्पताललाई आफूहरुले निर्माण गरेको टनेल हस्तान्तरण गरिएको व्यवसायी श्रेष्ठले जानकारी दिए । रु ३५ हजारको लागतमा व्यक्तिगत खर्च तथा ज्ञानका आधारमा सो टनेल निर्माण गरिएको श्रेष्ठले जानकारी दिए ।

टनेललाई बिजुली नभएको बेला सामान्य ब्याट्रीबाट सञ्चालन गर्न सकिने र प्रतिव्यक्ति ७० एमएल खर्च हुने उनको भनाइ छ। स्थानीय स्रोत र साधन जडान गरी निर्माण गरिएको स्वचालित स्यानिटाइजर टनेलले कोरोना भाइरस नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए ।

श्रेष्ठ दाजुभाइले निर्माण गरेको टनेल अस्पताललाई हस्तान्तरण गरेर उदाहरणीय काम गरेको उनको भनाइ थियो। धवलागिरि अस्पतालसँग समन्वय गरेर टनेल निर्माण गरिएको बताउँदै मनोजकुमार श्रेष्ठले पुराना इलेक्ट्रिकल सामानबाट मेसिन निर्माण गरेको जानकारी दिए ।

सेन्सर जडान गरिएकाले मानिस आएको सेन्सरले थाहा पाउने र मोटरलाई चालू गराइ स्यानिटाइजर स्प्रे गर्न सकिन्छ। मानिस टनेलमा प्रवेश गर्नासाथ अटोमेटिकरूपमा स्यानिटाइजर हुने र मानिस बाहिरिँदासाथ बन्द हुने श्रेष्ठले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर