काठमाडौं, असार २६ : स्थानीय तह आफ्ना क्षेत्रका जनताप्रति जिम्मेवार हुनुपर्ने संवैधानिक व्यवस्था बल्ल गोकर्णेश्वर नगरपालिकाअन्तर्गत पशु सेवा कार्यालयले कार्यान्वयन गरेको छ ।
समाचार सार्वजनिक भएपछि गोकर्णेश्वर नगरपालिकाले वडा नं २ नयाँपाटीस्थित भूमिस्थलीमा रहेको पशु विकास कार्यालयको बोर्ड फेरेको हो ।
नगरपालिका मातहत रहेको पशु सेवा कार्यालयको बोर्ड फेर्ने अधिकारसमेत त्यो कार्यालयलाई नभएको पशु सेवाका अधिकारीको गुनासो थियो ।
गुनासोपछि नगरपालिकाले नै बोर्ड फेरिदिएको पशु सेवा सहायक शान्ता खनालले बताए । नगरपालिकाको एउटै पशुसेवा कार्यालयको बोर्ड तीन वर्षदेखि च्यातिएर बुझ्न नसकिने भएको थियो । जसका कारण सेवाग्राहीलाई कार्यालय खोज्न धौ धौ हुने गरेको गुनासोसमेत सेवाग्राहीको थियो तर फेर्ने अधिकार नगरपालिकाले आफैँमा सीमित राखेको कार्यालयका कर्मचारीको गुनासो थियो ।
विसं २०७२ असोज पहिलो साता जारी भएको संविधानअनुसार तीन तहका सरकारमध्ये स्थानीय सरकारअन्तर्गत यो कार्यालय पर्छ । २०७२ सालको अन्त्यदेखि नै यो कार्यालय नगरपालिकाअन्तर्गत आएको हो ।
निर्णय भएको चार वर्षसम्म पनि पुरानै राज्य संरचना अनुसारको बोर्ड कार्यालयमा भुण्डिएको विषयलाई समाचारमार्फत राससले पटकपटक सार्वजनिक गरेपछि नगरपालिका फेर्न बाध्य भएको हो ।