१४ स्थानमा गएकाे पहिरोबाट १६ जनाको मृत्यु, ४४ बेपत्ता
शुक्रबार, असार २६, २०७७ मा प्रकाशित

काठमाडाै‌ं, असार २६ : लगातारको वर्षासँगै मुलुकका विभिन्न स्थानमा पहिरो जाने क्रम बढेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मात्र मुलुकका १४ स्थानमा पहिरो गएको छ। पहिरोमा परी १६ जनाको मृत्यु भएको छ, भने ४४ जना बेपत्ता छन्। १५ जना घाइते भएका छन्।

‘झरीसँगै पहिरोले घर बगाएको, ज्यान लिएको घटना आउने क्रम बढिरहेको छ,’ प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले भने, ‘जाेखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आह्वान गरिएको छ। उद्धार र खोजबिनमा स्थानीय प्रहरी, प्रशासन खटिएको छ।’

कास्कीमा ७ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार धाैलागिरि गाउँपालिका-मराङरिखामा घन्टीवाङ भीरबाट पहिरो खस्दा दुई घर पुरिएका छन्। अन्य दुई घरमा समेत क्षति पुगेको छ। धाैलागिरि र मालिका गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको हो।

प्राधिकरणका अनुसार पोखरा महानगरपालिका-१८ सराङकोटमा पहिरो खसेको छ। पहिरो खस्दा घरपरिवारसहित जन्मदिनको पार्टी मनाउन आएका पाहुना पनि पुरिएका छन्।

बुधबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा पहिरो जाँदा २ जनाको मृत्यु भएको थियो भने घटनामा २१ जना बेपत्ता भएका छन्।

वडा नम्बर १७ छोरेपाटन, वडा नम्बर २५ हेम्जा, वडा नम्बर २६ पैतेडाँडा, वडा नम्बर १९ तल्लोडाँडामा पनि पहिरो गएको छ। पहिरोमा कयौं बेपत्ता भएका छन्। कास्कीकै माछापुच्छ्रे गाउँपालिका-९ चुङडुङमा पनि पहिरोले एक घर भत्काएको छ।

म्याग्दीमा पहिरोमा ३५ घर पुरिएका छन्। घटनामा तीनजनाको ज्यान गएको छ भने ३३ जना बेपत्ता भएका छन्।

लमजुङको बेसीसहर नगरपालिका-७ सातबिसेमा पहिरो जाँदा एक घर पुरिएको छ। तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका-४ सार्कीगाउँमा पहिरो गएको छ। पहिरोमा बेपत्ता भएका १२ जनामध्ये एकको शव फेला परेको छ। रुकुम पश्चिममा पनि पहिरो गएको छ। आठबिसकोट-३ मा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर