जीर्ण सडक स्तरोन्नति
सोमबार, फागुन ०५, २०७६ मा प्रकाशित

गलकोट, फागुन ५ : बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा सात लाखको लागतमा जीर्ण ग्रामीण सडक स्तरोन्नति गरिएको छ । झण्डै चार किलोमिटर जीर्ण ग्रामीण सडक सुधार गरी पाँच मिटर चौडा पारिएको छ ।

बर्खाको समयमा यातयातका साधन सञ्चालन गर्न मिल्ने गरी कच्ची नालीसहित सडकको स्तरोन्नति गरिएको गाउँपालिकाले जनाएको छ । पाँच वर्षअघि खनेको कुकुरकाटे, आरिमपाटा, दामगाडे र पीपलडाँडा जीर्ण सडकमा सवारी आवतजावतमा समस्या भएको भन्दै सडक सुधार गरिएको गाउँपािलकाका अध्यक्ष अम्मर थापाले जानकारी दिए ।

गाउँपालिकाको ६ लाख तथा स्थानीयवासीको ६८ हजार जनश्रमदान गरी उक्त सडकलाई एक मिटरको कच्ची नालीसहित पाँच मिटर सडक चौडा गरिएको  कुकुरकाटे, आरिमपाटा, दामगाडे र पीपलडाँडा सडम निर्माण समितिका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार पाँच मिटर चौडा सडकमा आवश्यकताअनुसार ग्याविन तथा ढुंगाको सोलिङ गरिएको छ । ‘गाउँमा कम्तीमा १२ महिना यातयात सञ्चालन गर्न सडक सुधार गरिएको छ’, कार्कीले भने, ‘सडक सुधारसँगै यात्रुलाई सहज भएको छ ।’

विकासको पहिलो आधार सडक भएका कारण वडा कार्यालय भित्रका सबै सडकलाई १२ महिनै चल्ने गरी स्तरोन्नति गर्ने योजनाका साथ लागेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।  ‘हामीले गाउँपालिकाले विनियोजन गरेको बजेटबाट कच्ची नालीसहितको सडकको सुधार गरेका हौँ’, लामिछानेले भने । उक्त सडकबाट चार गाउँका सय घरधुरी लाभान्वित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर