बर्दिया,पौष २१(फरकसमाचार)/ न्यायको लागि कुशासनको अन्त्य गरेर सुशासनको स्थापना गर्नुपर्ने जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्व उप–उपप्रधानमन्त्री उपेन्द्र यादवले बताएका छन् । जनतासंग जसपा नेपाल संगठन विस्तार आधारभूत अभियान अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
देशमा जनताले सुशासनको अनुभुति नगरेको अध्यक्ष यादवले बताए । ‘जनताले तिरेको करबाट प्रशासकले तलब खान्छन्,’अध्यक्ष यादवले भने,‘सरकारले जनताको सेवाको लागि प्रशासक राखेको छ, तर पनि प्रशासक मालिक बनेर बस्छन् ।’ अन्यायमा परेकालाई न्याय मिल्दैन, बिना पैसाको काम हुदैन र जताततै भ्रष्टाचार भएको व्यापक गुनासो छ । यो कुशासन हो । त्यसैले अब हामीले कुशासनको अन्त्य गरेर सुशासनको स्थापना गर्नुपर्ने अध्यक्ष यादवले भनाई राखे ।
जबसम्म कुशासन हुन्छ, तबसम्म विकास हुदैन । विगत ३५ वर्ष देखि जुन पार्टीले शासन गरेपनि शोषित र पिडितको उत्थान नभएको अध्यक्ष यादवले सुनाए । अब जनताको चाहना अनुसार जसपा नेपालले मात्र काम गर्न सक्ने अध्यक्ष यादवले दावी गरे ।
देशको आर्थिक स्थिती सुधार, शिक्षा, स्वास्थ्य र रोगजारी दिनेलगायतको काम जसपाको नेतृत्वले मात्र गर्न सक्ने उपस्थित कार्यकर्तालाई अध्यक्ष यादवले विश्वास दिलाए । जसकारण संगठित भई अघि बढ्न अभिमुखिकरण कार्यक्रममा अध्यक्ष यादवले निर्देशनात्मक भनाई राखे ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, केन्द्रीय सदस्य सुधाकर मिश्र, जिल्ला अध्यक्ष कृष्ण यादवलगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको युवा नेता पप्पु यादवले जानकारी दिए ।