बर्दिया,साउन १६ (फरकसमाचार) / श्रमिकहरुको समस्या प्राथमिकतामा राख्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । जिल्ला स्तरीय श्रमिक सञ्जालको समिक्षा तथा कार्ययोजना निर्माणको लागि कार्यशालामा सोमबार प्रजिअ पौडेलले यस्तो बताएका हुन् ।
श्रमिकहरुको कनुै समस्या आएमा प्राथमिकतामा राखी न्याय पाउने व्यवस्था मिलाउने प्रजिअ पौडेलले बताए । ‘त्यसको लागि पहिला सुचना दिनु पर्यो,’प्रजिअ पौडेलले भने,‘तपाईहरु अन्यायमा परेको सुचना नपाइकन कता न्याय दिन जानु ।’
त्यसैगरि श्रमिकहरुको समस्या समाधान स्थानीय स्तरबाट हुनुपर्ने प्रजिअ पौडेलले बताए । ‘गेरुवाको श्रमिकले ५ दिनको ज्याला नपाएको उजुरी लिएर जिल्ला प्रशासन धाउँदा ज्याला भन्दा बढी खर्च भएर श्रमिकलाई पिडा माथि पिडा थपिन्छ,’प्रजिअ पौडेलले भने,‘यस्ता समस्याको समाधान स्थानिय स्तरबाट समाधानको लागि श्रमिकहरुको अगुवा र हामीले मिलाउनुपर्ने हुन्छ ।’ यस्ता समस्या समाधानको लागि सम्पुर्ण पालिकासंग आफुले समन्वयात्मक भुमिका निर्वाह गर्ने प्रजिअ पौडेलले विश्वास दिलाए ।
प्रमाणको अभावमा साहुले श्रमिकलाई ठगी गरेको पाईन्छ । जसले गर्दा श्रमिकले पनि काम गरेको प्रमाण खुल्ने कागजात सुरक्षित राख्न आग्रह गरे । असारमा दररेट कायम गर्नुपर्ने बाध्यकारी भएकोले संघिय सरकारको अघिल्लो वर्षको दररेटलाई आधार मानेर श्रमिकहरुको न्युनतम रदरेट कायम गरेको प्रजिअ पौडेलले सुनाए ।
दुई दिन संचालन भएको कार्यशालामा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको सञ्जाललाई उनीहरुको सवाल पहिचान गर्ने तथा संगठन बिस्तार गरी श्रमिकको अधिकारलाई अभियानको रुपमा लैजाने सम्बन्धमा व्यापक छलफल गरिएको कमैया महिला जागरण समाज नेपालका कार्यक्रम संयोजक रमेश कुमार चौधरीले बताए ।
एक्सनएड नेपालको आर्थिक सहयोग, कमैया महिला जागरण समाज नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय श्रमिक सञ्जालको समिक्षामा जिल्लाको आठ वटै पालिकाबाट ४६ जना श्रमिकहरुको सहभागिता रहेको थियो । कार्यशाला समापन कार्यक्रममा कमैया महिला जागरण समाज नेपालकी अध्यक्ष कृष्णी थारु, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, जिल्ला स्तरीय श्रमिक सञ्जालका अध्यक्ष लौटन थारुलगायत श्रमिकहरुको उपस्थिती रहेको थियो । कार्यशाला गोष्ठी समापनको कार्यक्रम राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक जितराम चौधरीले संचालन गरेका थिए ।