बागलुङको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म
शनिबार, फागुन १७, २०७६ मा प्रकाशित

बागलुङ, फागुन १७ : भारतीय सेनाको जागीरपछि स्वेदश फर्कनुभएका रमेश खड्का पछिल्लो समय व्यवसायमा जमेका छन् । दुई वर्षअघि जिल्लामै पहिलोपटक काँचो तयारी मःमको व्यवसाय शुरुआत गरेका उनले शुक्रबारदेखि ‘सुसारा बिन्स क्याफे’ सञ्चालनमा ल्याएका छन् ।

बागलुङ नगरपालिका–३ का ४० वर्षीय उनी सेनामा २० वर्ष सेवा गरेर हवल्दार पदमा निवृत्त हुनुभएको थियो । ‘थप पद लिनलाई जागीर बढाउन पनि सक्थे, स्वदेश आएर पनि अरु देशमा जान सकिन्थ्यो’, उनी भने, ‘आफ्नै ठाउँमा बसेर केही गरौँ भन्ने सोचले व्यवसायतिर लागेँ ।’

‘सुसारा फ्रोजन मःम’ र ‘सुसारा बिन्स क्याफे’मा गरी करिब एक करोड लगानी भएको छ । मःम व्यवसायमा १५ र ‘क्याफे’मा पाँच जनाले रोजगारी पाएका छन् । ‘क्याफे’मा खड्कासहित उनको नातेदार सुशील खड्का र सागर थापाकोसमेत लगानी छ । मःम व्यवसायमा भने रमेश एक्लैको लगानी छ । ‘बागलुङमा काँचो तयारी मःमको बिक्री पहिलोपटक मैले नै शुरु गरेको हुँ’, रमेशले भने, ‘यहाँ बनेको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म समेत जान्छ ।’ किमा भरेर तयार पारिएको मःमलाई विशेष रुपले ‘प्याकिङ’ गरेर बजार पठाइन्छ ।

दैनिक छ देखि ७०० पिलेटसम्म मःम बिक्री हुने गरेको रमेशको भनाइ छ । खसी–बोकाको मःम प्रतिपलेट १००, कुखुराको ६०, माछाको ७० र शाकाहारी मःमको ४५ पर्छ । छिट्टै केराको मःम पनि उत्पादन गर्ने लक्ष्य छ ।

मःमबाट मासिक करिब पाँच लाख बराबरको कारोवार हुने गरेको छ । मःम व्यवसायलाई कम्पनीकै रुपमा अघि बढाउने र बजार पनि विस्तार गर्ने उनको  योजना छ । उनीलाई व्यवसायमा श्रीमती रक्षाको दरिलो साथ छ । ‘व्यवसायबाट सन्तुष्ट छु, ठूलो मुनाफाको अपेक्षा मसँग छैन’, रमेशले भने ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले शुक्रबार शुभारम्भ गर्नुभएको ‘क्याफे’मा चिया, कफीका साथै रेष्टुराँमा पाइने अधिकांश परिकार उपलब्ध छन् । बागलुङ बजारको केन्द्र भागमा खोलिएको ‘क्याफे’ले जिल्लामा भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनले बताए ।

उनले विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसाय गर्ने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राखे । ‘पछिल्लो समय होटल, रेष्टुराँमा लगानी बढेको छ’, अध्यक्ष राजभण्डारीले भने, ‘व्यापारसँगै पर्यटन प्रवद्र्धनका लागि सुखद् पक्ष हो ।’

व्यवसायसँगै गीत, संगीतमा पनि क्रियाशील रमेशले ‘माछी मारन’लगायतका गीतमा स्वर दिनुभएको छ । यहाँका पर्यटकीय गन्तव्यस्थललाई समेटेर उनले गाएको नयाँ गीत सार्वजनिक हुने तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर