गलकोट, चैत ५ : बागलुङ जिल्लामा निजी आवास पुनःनिर्माणको प्रगति ५३ प्रतिशत पुगेको छ । विस २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार २४० लाभग्राहीमध्ये हालसम्म एक हजार ३२९ जनाले निजी आवास पुनःनिर्माण सम्पन्न गरेका छन् ।
उनीहरूले घर निर्माण सम्पन्न पश्चातको अन्तिम किस्ता लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई बागलुङले जनाएको छ । निजी अवास पुनःनिर्माणकार्य सम्पन्न गर्ने लाभग्राहीका हालसम्म १३ करोड २९ लाख निकासा भइसकेको राष्ट्रि«य पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई बागलुङका सूचना अधिकारी चुर्णबहादुर कार्कीले जानकारी दिए ।
बागलुङका भूकम्पपीडितमध्ये एक हजार ५९९ जना लाभग्राहीले दोस्रो किस्ताबापतको २३ करोड ९८ लाख ५० हजार र दुई हजार २५२ जनालाई पहिलो किस्ताबापतको ११ करोड २६ लाख रकम लगिसकेका छन् । निजी आवास पुनःनिर्माण लाभग्राहीको सूचीमा रहेका १४५ परिवारले पहिलो किस्ताको सम्झौत गर्न नआएको सूचना अधिकारी कार्कीले बताए ।
यस्तै जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १० परिवारका लागि एकीकृत बस्ती निर्माण गर्ने गरी लाभग्राहीको सूचीमा समावेश भए पनि जग्गा खरिद भए पनि एकीकृत बस्तीको विस्तृत योजना प्रतिवेदन (डिपिआर) पूरा नहुँदा घर पुनःनिर्माणको काम शुरु हुनसकेको छैन ।
एकीकृत बस्ती निर्माणका लागि प्रतिपरिवार घडेरी खरिदका लागि दुई लाख, भौतिक पूर्वाधार निर्माणका लागि चार लाख र घर निर्माणको लागि तीन लाख अनुदान पाउने छन् । घडेरी खरिदका लागि १० परिवार बराबर २० लाख निकासा भइसकेको छ भने पूर्वाधार निर्माण र घर निर्माणको रकम निकासा नभएको सूचना अधिकारी कार्कीको भनाइ छ ।
पुनःनिर्माणमा घरको प्रबलीकरण मुख्य समस्याका रूपमा रहेको छ । प्रबलीकरणका १६१ जना लाभग्राहीमध्ये ९७ जनाले सम्झौता गरे पनि दुईजनाले मात्रा अन्तिम किस्ता लिएका छन् । त्यीमध्ये जैमिनी नगरपालिका छिस्तीका प्रेमबहादुर नायक क्षेत्रीले ५० हजार फिर्ता गर्नुभएको छ ।
प्रबलीकरणका लागि आवश्यक प्राविधिक जनशक्ति नहुँदा समस्या भएको जिल्ला कार्यान्वयन इकाइले जनाएको छ । प्रबलीकरणका लाभग्राहीले पाउने अनुदानले घरलाई बलियो बनाउन नपुग्ने भएको कारणले पनि लाभग्राही आकर्षित नभएको हुनसक्ने इकाइको अनुमान छ ।