ल्याब स्थापनामा स्थानीय तहको पहल
बिहिबार, चैत २०, २०७६ मा प्रकाशित

अमरगढी, चैत २० : डडेल्धुरा जिल्ला समन्वय समितिलगायत डडेल्धुराका दुई नगरपालिका र पाँच गाउँपालिकाको आर्थिक सहयोमा कोरोना भाइरस परीक्षण गर्ने ल्याब स्थापना गरिने भएको छ । सङ्घीय सरकारमातहतको सुदूरपश्चिमको एकमात्रै सुविधासम्पन्न डडेल्धुरा अस्पतालमा कोरोना भाइरस परीक्षण गर्ने ल्याब स्थापना गर्न स्थानीय तह लागेका हुन् ।

स्थानीय तहहरूले योजनाबाट रकम रकमान्तर गरी कोरोना परीक्षण एवं बहुउपयोगी ल्याब स्थापनाका लागि सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुरोध गरेका छन् । जिल्लाका सातवटै स्थानीय तहको संयुक्त बैठकले २० लाखका दरले रकम उपलब्ध गराउने र बाँकी रकमका लागि निजी क्षेत्रलाई सार्वजनिक अपिल गर्ने प्रस्ताव गरिएको अमरगढी नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझाले बताए ।

सातवटै स्थानीय तहका ५२ वडाबाट दुई लाखका दरले, सात स्थानीय तह पाँच–पाँच लाखका दरले र बाँकीका लागि निजी क्षेत्रलाई सार्वजनिक अपिल गर्ने, जिल्ला समन्वय समितिमा रहेको संयुक्त कोषबाट एक करोड सातवटै स्थानीय तहको पाँच–पाँच लाख र बाँकीका लागि निजी क्षेत्रलाई सार्वजनिक अपिल गर्ने प्रस्ताव गरिएको उनले बताए ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख, सातवटै स्थानीय तहका प्रमुख एवं अध्यक्षलगायत सरोकरवालाको सर्वपक्षीय बैठकले ल्याब स्थापना गर्न आवश्यक सहयोग र बजेटका लागि सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय बोधार्थ राखी सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्र पठाइएको जनाएको छ ।

नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा एक मात्रै सङ्घीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पताल डडेल्धुरामा छ तर अस्पतालमा सेवासुविधा भने छैनन् । ४२ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले आठ मात्रै चिकित्सक छन् । तीमध्ये पनि दुई घर गएका छन् ।

दुई जना आइसोलेसनमा

डडेल्धुरा अस्पतालमा अहिलेसम्म रुघाखोकी लागेका दुई जनाको स्वाब कोरोना भाइरस परीक्षणका लागि काठमाडौँ पठाइएको छ । अमरगढी नगरवासी दुई जना भारतको महाराष्ट्रबाट घर आएका हुन् । उनीहरू दुईलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर