गण्डकी प्रदेशलाई पिपिई हस्तान्तरण
सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित

पोखरा, वैशाख १ : पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा एक कार्यक्रमबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले एकसय थान पिपिई हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्री गुरुङले उक्त सामग्री बुझ्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरस रोगको सङ्क्रमण रोकथामका लागि प्रदेश सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरे । महानगरपालिकाले यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि एक सय थान पिपिई उपलब्ध गराएको थियो । मुख्यमन्त्री गुरुङले पिपिई प्रदान गरेकामा महानगरपालिकालाई धन्यवाद दिए ।

महानगर प्रमुख मानबहादुर जिसीले शिशुवा अस्पताललाई र मातृशिशु मितेरी अस्पताललाई ४०÷४० थान पिपिई प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिए । कास्कीका चारवटै गाउँपालिकालाई पनि १०÷१० वटा पिपिईसँगै रुपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्षलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिने तयारी गरिएको उनको भनाइ छ ।

यसैक्रममा पोखरा महानगरपालिकालाई सुपर मादी हाइड्रोपावर र पोखरा अटोवेज प्रालिले व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेका छन् । सुपर मादी हाइड्रोपावर प्रालिका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गाना र अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायण पौडेलले ५०÷५० थान पिपिई महानगरप्रमुख जिसीलाई हस्तान्तण गरेका हुन् ।

कोरोना जोखिम बढिरहेको अवस्थामा स्वास्थ्यकर्मीका लागि पिपिई अति आवश्यक भएकाले महानगरमार्फत सहयोग गरिएको उनहरुले बताए । नगरप्रमुख जिसीले सङ्कटको बेलामा संस्थाले गरेको सहयोग सराहनीय रहेको भन्दै यस्ता सामग्रीले कोरोना भाइरस रोगको रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर