कास्कीमा विद्युतीय अनुमतिपत्रको व्यवस्था
बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

कास्की, वैशाख ४ : जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड –१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि अत्यावश्यकीय सवारी सञ्चालन अनुमतिका लागि आजदेखि  विद्युतीय अनुमतिपत्र (इ–पास)को व्यवस्था गरेको छ ।

सवारी पासका लागि प्रशासनमा हुने बढ्दो भीडभाड अन्त्य गरी घरमै बसेर समेत अत्यावश्यक भएकाहरुका लागि सहज रुपमा सवारी अनुमति प्रदान गर्नका लागि इ–पासको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

अनलाइन फारम पेश भइसकेपछि जिल्ला प्रशासनले पास वितरण मापदण्डको आधारमा पास दिने नदिने निर्णय गर्ने र सोको जानकारी सम्वन्धित व्यक्तिको मोवाइलको म्यासेज बक्समा जानकारी दिइने कार्यालयले जनाएको छ । फारम स्वीकृत भएपछि प्राप्त हुने कोडमा उल्लेखित नम्वर र व्यहोरा नै सवारी पास हुने बताइएको छ ।

उनले प्रशासनले अति आवश्यक सवारी साधनका लागि मात्र पास स्वीकृत गर्ने भएकाले अनावश्यक रुपमा अनलाइन दरखास्त नदिइ लकडाउनलाई प्रभावकारी बनाउने कार्यमा सहयोग पु¥याउन समेत जिल्लावासीमा आग्रह गरेका छन् ।

एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाल सवारी, सञ्चारकर्मी,स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, प्रयोगशालामा कार्यरत प्राविधिक तथा अस्पतालका कर्मचारी, पशुपंक्षीको घाँस, पराल, दाना आदी ढुवानी गर्ने सवारी साधनहरुलाई अनुमति पत्र आवश्यक नपर्ने र सम्वन्धित संस्थाको परिचयपत्रका आधारमा सञ्चालन गर्न दिइएको प्रशासनले स्पष्ट पारेको छ ।

कुनै निकाय वा सङ्घ संस्थाको नाममा जारी भएको पास जारी गरेको उद्देश्य विपरित वा अन्य अनाधिकृत व्यक्तिले प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले चैत महिनामा लकडाउनका अवधिमा सवारी पासको दुरुपयोग गरी चलाएका २७३ वटा सवारीलाई कारवाही गरिएको र पासको अनाधिकृत प्रयोगलाई कठाइका साथ रोकिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर