सहायता कक्षबाट दुई हजारको परीक्षण
बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

दमौली, वैशाख ४ : कोभिड–१९ को जोखिम नियन्त्रणका लागि तनहुँ जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षबाट दुई हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रवेश गर्ने मुख्य नाका तथा विभिन्न स्थानीय तहमा स्थापना गरिएको कक्षबाट दुई हजार ११ जनाको परीक्षण गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उक्त कक्षबाट ३ सय २८ महिला र एक हजार ६ सय ८४ पुरुषको परीक्षण गरिएको छ । कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा राखिएको स्वास्थ्य सहायता कक्षमा १ हजार ४ सय ६३, भानु नगरपालिका–३ फुस्रेटार, कालीमाटी, भन्सारमा एक सय २२, म्याग्दे गाउँपालिकाको कार्यालयमा दुई सय ६३, भीमादमा ८४, ऋषिङका विभिन्न ठाउँमा २७, देवघाटमा ५२ जनाको परीक्षण गरिएको छ ।

यहाँका चार स्थानीय तहका चार ठाउँमा ज्वरो मापन (फिवर क्लिनिक) सञ्चालन गरिएको छ । कोरोना भाइरसबाट सम्भावित सङ्क्रमितको उपचारमा सघाउन जिल्लाका भीमाद नगरपालिका, भानु नगरपालिका, ऋषिङ गाउँपालिका र देवघाट गाउँपालिकामा फिवर क्लिनिक सञ्चालन गरिएको हो ।

भीमादको प्राथमिक स्वास्थ्य केन्द्र, भानुको भन्सारमा, ऋषिङको रानीपोखरी र भिरकोटमा र देवघाटको धर्मार्थ अस्पतालमा फिवर क्लिनिक सञ्चालनमा रहेको छ । भीमादमा २८, भन्सारमा ३४, रानीपोखरीमा ७, भिरकोटमा १० र देवघाटमा तीन जनाको ज्वरो मापन गरिएको छ ।

सबै क्वारेन्टाइन खाली 

विदेशबाट फर्किएकालाई राख्न यहाँ स्थानीय तहले बनाएको सबै क्वारेन्टाइन खाली छन् । विदेशबाट फर्किएकालाई निगरानीमा राख्नका लागि जिल्लाका दश वटा स्थानीय तहले क्वारेन्टाइन बनाएपनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शुन्य छ । जिल्लाभर कूल १ सय ७६ शैय्याको क्वारेन्टाइन बनाइएको छ । व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा दुई जना बसेपनि उनीहरु हालै स्वास्थ्य परीक्षणपछि घर फर्किएका छन् । हाल उक्त क्वारेन्टाइनमा कोही पनि छैनन् ।

देवघाट गाउँपालिकाले धर्मार्थ अस्पतालमा बनाएको क्वारेन्टाइनमा एक जना मात्रै छन् । भारतबाट तीन दिनमा हिँडेरै देवघाट आइपुगेका ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

गाउँपालिकामा विदेशबाट फर्किनेको सङ्ख्या ३४ छ, तर सबै घरमा नै बसिरहेका छन् । ‘विदेशबाट फर्किएकाहरु घरमै बसेपनि उनीहरुको निगरानी गरिरहेका छौ,’ सुवेदीले भने, ‘सबैको ¥यापिड डाइग्नोष्टिक टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।’

भानु नगरपालिकाले २०, व्यास नगरपालिकाले १३, म्याग्दे गाउँपालिकाले ५, शुक्लागण्डकी नगरपालिकाले २३, भीमाद नगरपालिकाले १०, घिरिङ गाउँपालिकाले २५, ऋषिङ गाउँपालिकाले २०, देवघाट गाउँपालिकाले २०, बन्दीपुर गाउँपालिकाले २८ र आँबुखैरेनी गाउँपालिकाले १० श्ययाको क्वारेन्टाइन निर्माण गरेका छन् ।

जिल्लामा विदेशबाट फर्किनेको सङ्ख्या ७ सय ३८ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार भारत लगायत तेस्रो मुलुकबाट जिल्ला आउनेमध्ये भानु नगरपालिकामा ८१, व्यास नगरपालिकामा १ सय ६२, म्याग्दे गाउँपालिकामा ३८, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय १३, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा ८५, देवघाट गाउँपालिकामा ३४, बन्दीपुर गाउँपालिकामा १८ र आँबुखैरेनी गाउँपालिकामा २१ जना छन् ।

जिल्लाका विभिन्न अस्पतालमा ४६ श्ययाको आइसोलेसन कक्ष बनाइएको छ । म्याग्दे गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा आठ, शुक्लागण्डकी नगरपालिकामा २९ र बन्दीपुर गाउँपालिकामा आठ श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा छ ।  जिल्लामा भारत, दुवई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का, अष्ट्रेलिया लगायतबाट घर फर्किने धेरै रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन  जिल्लाका टोल–टोलमा पुगेर आरडिटी (¥यापिड डाइग्नोष्टिक टेष्ट) विधिबाट दु्रत परीक्षण गरिएको छ । विदेशबाट फर्किएर घरमा बसिरहेकाहरुमा कोरोना जाँच गर्नका लागि दश वटै स्थानीय तहका टोल–टोलमा दु्रत परीक्षण भइरहेको छ ।

आइतबारदेखि शुरु भएको दुर्त परीक्षणका क्रममा बिहीबारसम्म ४ सय ७३ जनामा परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये सबैमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार परीक्षण गरिएकामध्ये ४ सय २२ पुरुष र ५१ महिला छन् ।

कोरोना परीक्षणका लागि सम्बन्धित स्थानीय तहबाट तालीमप्राप्त स्वास्थ्यकर्मी खटिएका छन् । ‘प्रत्येक टोलमा पुगेर कोरोना जाँच गर्ने व्यवस्था मिलाइएको छ,’ अधिकारीले भने, ‘कतिपयको भने घरमै पुगेर पनि कोरोना जाँच गरिएको छ ।” सम्बन्धित वडाका अध्यक्षहरुले कोरोना जाँचका लागि सहजीकरण गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भानु नगरपालिकाका ४१, व्यास नगरपालिकाका ९१, म्याग्दे गाउँपालिकाका ३६, शुक्लागण्डकी नगरपालिकाका ६७, भीमाद नगरपालिकाका ७२, घिरिङ गाउँपालिकाका ४०, ऋषिङ गाउँपालिकाका ६२, देवघाट गाउँपालिकाका ३४, बन्दीपुर गाउँपालिकाका १५ र आँबुखैरेनी गाउँपालिकाका १४ जनाको परीक्षण भइसकेको छ ।

गण्डकी प्रदेश सरकारले परीक्षणका लागि आवश्यक किट उपलब्ध गराएपछि जिल्लाका सबै स्थानीय तहमा ¥यापिड डाइग्नोष्टिक टेष्ट भइरहेको छ । गण्डकी प्रदेश सरकारले  जिल्लाका लागि ६ सय ४२ थान किट पठाएको छ ।

स्वास्थ्य कार्यालयले भानु नगरपालिकालाई ६०, व्यास नगरपालिकालाई १ सय २०, शुक्लागण्डकी नगरपालिकालाई १ सय, भीमाद नगरपालिकालाई ८५, म्याग्दे गाउँपालिकालाई ४०, घिरिङ गाउँपालिकालाई ४५, ऋषिङ गाउँपालिकालाई ६५, देवघाट गाउँपालिकालाई ३०, बन्दीपुर गाउँपालिकालाई २५, आँबुखैरेनी गाउँपालिकालाई २५ थान किट उपलब्ध गराएको छ ।

विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिने र त्यसका लागि सम्बन्धित स्थानीय तहबाट तालीम प्राप्त स्वास्थ्यकर्मी खटाइएको छ । अधिकारीका अनुसार विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा १४ दिनदेखि २१ दिनसम्म बसेका सर्वसाधारणको दु्रत परीक्षण गरिनेछ ।

गण्डकी प्रदेश सरकारले एक महिनायता नेपाल आएको प्रदेशभित्रका तीन हजार ७५० जनाकै दु्रत परीक्षण गर्ने अभियान सञ्चालन गरेको छ । द्रुत परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा पुनःपरीक्षणका लागि ल्याबमा पठाइनेछ । दु्रत परीक्षणबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरै जनामा परीक्षण गरी जोखिमलाई न्यूनीकरण गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

कोभिड–१९ को आशङ्कामा  जिल्लाका हालसम्म पाँच जनाको स्वाब परीक्षण गरिएको छ । भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका एक÷एक जनाको स्वाब परीक्षण गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चैत १ गतेदेखि जिल्लामा विदेशबाट आउनेको सङ्ख्या ७ सय ५४ छ । भारत लगायत तेस्रो मुलुकबाट जिल्ला आउनेमध्ये भानु नगरपालिकामा ८२, व्यास नगरपालिकामा १ सय ६९, म्याग्दे गाउँपालिकामा ४३, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय १३, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा ८५, देवघाट गाउँपालिकामा ३४, बन्दीपुर गाउँपालिकामा १८ र आँबुखैरेनी गाउँपालिकामा २१ जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर