लम्की, वैशाख ७ : नेपालमा लकडाउन भएको २७ दिन पुग्यो । रोजगारी तथा अध्ययनको सिलसिलामा बाहिरी जिल्लामा रहेकाहरु घर फर्किएका छन् । लकडाउनपछि अधिकांशको घरमा पारिवारिक जमघट राम्रो छ । जमघटमा रमाइलो भए पनि महिलाको दैनिकी भने निकै व्यस्त भएको छ । महिलालाई घरको काम भ्याइनभ्याई भएको छ ।
लम्कीचुहा नगरपालिकाकी सीता खड्काको परिवारमा ११ जना छन् । उनका श्रीमान् सरकारी जागिरे छन्। पढाईको सिलसिलामा काठमाडौँमा रहेका तीन छोराछोरी पनि घर फर्किएका छन् ।
हाल उनलाई घरको कामले च्यापेको छ । ‘‘सासू, ससुरा, देवर, उनका दुई बच्चापनि छन् । देउरानी भने लकडाउनका कारण महेन्द्रनगरमै रोकिएकी छन्’’, खड्काले भनिन्, ‘‘मलाई बिहान ४ बजेदेखि घरको कामले च्याप्छ । दिनमा चार पटक त खाना र खाजा पकाउनुपर्छ । दैनिक लुगाकपडा धुनुप¥यो, घर सरसफाइलगायतका अन्य काम पनि हुन्छ, म त थाकिसकेँ ।’’
खड्काले घरको काममा परिवारका अन्य सदस्यले नसघाउंँदा महिलालाई कठिन रहेको बताइन् । ‘‘बालबच्चा बाहिर बस्थे, आराम गर्छौँ भन्छन्, सासूससुरा बूढाबूढी छन् । श्रीमान् र देवरले कहिल्यै घरको काम गरेनन्’’, खड्का भन्छिन्, ‘‘लकडाउनपछि महिलालाई कामको बोझ पो थपियो । आराम गर्ने समय नै मिल्दैन ।’’
कैलाली, जोशीपुर–१ की सरस्वती साउदलाई पनि यस्तै पिरलो छ । उनलाई पनि घरको कामले च्यापेको छ । ‘‘घरको काम नै सकिँदैन, झन् गहुंँ खेती स्याहार्ने समयमा कामको बोझ बढेको छ’’, साउदले भनिन्, ‘‘पुरुषले घरको काममा सघाउने वातावरण नभएसम्म हामी जस्ता महिलालाई आराम गर्ने समय मिल्दैन ।’’
टीकापुर ९ की रुपा खत्रीको व्यस्तता पनि घटेको छैन । उनलाई घरभरि भरिएका परिवारलाई के पकाएर खुवाउने भन्ने चिन्ताले सताउंँछ । ‘‘सबै परिवार घर फर्किएका छन्, घरमा तरकारी सकिएको छ । किन्न पनि पाइँदैन’’, खत्री भन्छिन्, ‘‘मलाई त के पकाएर खुवाउनु भन्ने पिर बढी लाग्छ, घरमा भएको खाद्यान्नसमेत सकिन थालेको छ, कसरी जोहो गर्ने ?’’
महिलाअधिकारकर्मी कल्पना उपाध्याय घरका काममा पुरुष जिम्मेवार नभइदिँंदा महिलाले घरकै काममा पीडा महशुस गरिरहेको बताउछिन् । ‘‘महिलाको पनि शरीर हो भन्ने पीडा बोध गर्न आवश्यक छ । खाना पकाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने काम महिलाकै ठेक्का हो भन्ने बुझाइ गलत हो ।’, उपाध्यायले भनिन्, ‘‘सहयोगी श्रीमान् पाएका महिला भने सुखी छन् ।’’
टीकापुर बहुमुखी क्याम्पसमा समाजशास्त्र विषयका उपप्राध्यापक रामप्रसाद तिवारी घरको काममा महिलालाई राहत हुने वातावरण बनाउनुपर्नेमा जोड दिन्छन् ।
उनी काम जसले जे सक्छ त्यही गर्न आवश्यक रहेको बताउँछन् । ‘‘घरको काममा परिवारकै सहयोग र सहकार्य चाहिन्छ, सहकार्य नभए एउटालाई भार भइहाल्छ नि’’, तिवारी भन्छन्, ‘‘महिलाहरु त्यसमा पनि जागिरे महिलालाई अझ बढी कामको बोझ छ । काममा पारिवारिक सहकार्य आवश्यक छ ।’’ रासस ।