सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको देशव्यापी लकडाउनको आज २८ दिन पूरा हुँदैछ । २८ दिनदेखि मुलुक ठप्प छ । सरकारले जो जहाँ छ त्यहीँ बसिदिन आग्रह गरेको छ । तर पनि यो बीचमा सरकारले गरेका धेरै काम आलोचित बन्न पुगेका छन् । औषधि खरिद होस् वा सेनालाई जिम्मा दिने विषय, कोरोना उपचारमा खटिएका चिकित्सकलाई कारबाही होस् वा मजदुरका विषय । सरकार कुनै न कुनै रुपमा विवादको घेराभित्र परेको छ ।
मुलुककै ठूलो पार्टीको नेतृत्वमा रहेको सरकार एकपछि अर्को काण्डमा किन फस्दैछ ? नेकपाभित्रका दुईअध्यक्षबीचमा देखिएको विवाद के हो ? लगायतका विषयमा केन्द्रित रहेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग बाह्रखरीले गरेको कुराकानी :
यहाँको दैनिकी अत्यन्त व्यस्त थियो । अहिले लकडाउनको यो समय कसरी बिताउनुभएको छ ?
लकडाउनले सम्पूर्ण नेपाली र विश्वभरकै मानिसलाई नयाँ परिस्थितिमा लगेर राखिदिएको छ । घरभित्रै बस्नुपर्ने बाध्यता बनाएको छ । सरकारले लकडाउनको घोषणा गरेपछि राजनीतिक दलहरु, नागरिक समाज, पत्रकार र आम नेपाली जनताले पनि यसको गम्भीरतालाई बुझेर बडो अनुशासित र जिम्मेवारीपूर्वक पालना गरेको मैले देखेको छु ।
म पनि आम नागरिकजस्तै घरभित्रै बस्नु स्वाभाविक भयो । तर मलाई त्यति अनौठो किन लागेको छैन भने मैले हिजो भूमिगतकालमा कैयौँ गाउँमा र घरमा महिनौँ बिताएको छु । एउटै घरमा भूमिगत बस्ने बानी परेको हुनाले यसरी घरभित्र बस्ने कुरा मेरो लागि अनौठो भएको छैन । स्वाभाविक भएको छ । म त्यसबेला पनि एउटै घरभित्र बस्दा पनि ‘एक्टिभ’ भएर बस्थेँ ।
बिहान बेलुका व्यायाम गरेर पसिना निकालेर आफूलाई तन्दुरुस्त राख्ने, खानपिनमा विशेष ध्यान दिने गर्थेँ । लेख्ने, पढ्ने, फोन गर्ने, कोठैबाट काम गर्ने मेरो त्यसबेला पनि बानी थियो । अहिले पनि मलाई यसरी बस्ने कुरा सामान्य लागेको छ ।
मेरो लागि व्यक्तिगत रुपमा अप्ठेरो छैन । बिहान उठेदेखि संगीत सुन्छु, नित्य कर्म गर्छु । दैनिक रुपमा व्यायाम गरेर, टेबल टेनिस खेलेर, साइकल चलाएर, ट्रेड मिलमा हिँडेर होस् पसिना निकाल्छु ।
त्यसपछि…
त्यसपछि नुहाइ धुवाइ गर्ने । पत्रपत्रिका पढ्ने । अनलाइन हेर्ने त्यसमा जान्छ करिब डेढघण्टा । त्यसपछि साथीहरुलाई फोन गर्छु । त्यहाँ पनि समय बिताउँछु । पढ्ने लेख्ने गर्छु । पुँजी बजारसँग सम्बन्धित पुस्तक अलि बढी अध्ययन गरेको छु । अबको युग एसियाको युग हुन्छ भन्नेबारेमा लेखिएका पुस्तक पनि पढ्ने गरेको छु । बेलुका फेरि ‘फिजिकल एक्सरसाइज’ गर्ने गरेको छु ।
प्रधानमन्त्रीले बोलाउँदा बैठकमा जान्छु । शनिबार मात्रै पनि प्रधानमन्त्रीसँग कुराकानी भएको छ । लामै कुराकानी भयो ।
मिडिया र सामाजिक सञ्जालमा कति समय बिताउनुहुन्छ ?
बिहान उठेर म मिडिया अलि बढी हेर्न बल गर्छु । सबै हेरेर साध्य पनि हुँदैन । स्थापित अनलाइन र पत्रिका हेर्ने कोशिस गर्छु । सोसल मिडिया पनि हेर्ने गर्छु । फेसबुकमा आउने चिजहरु पनि एकपल्ट बिहान आधाघण्टा जति हेर्छु । त्यसले गर्दा कसले के भनिरहेको छ भन्ने बारेमा जानकारी हुन्छ ।
फेसबुक आफैँ चलाउनुहुन्छ ?
चलाउँछु ।
सरकारले गरेको लकडाउनमा सरकारनै बढी आलोचित भयो, किन होला ? सरकारको नेतृत्व गरेको दलको अध्यक्ष भएको नाताले यसमा के भन्नुहुन्छ ?
यो समग्रतामा समीक्षा गर्नुपर्ने विषय छ । देशको समग्र राजनीतिक परिस्थिति, हामीले निर्माण गरेको संविधान, निर्वाचन, निर्वाचन परिणाम र यहाँसम्म आउँदा के कति कारणले कति काम हुन सक्यो, कति कारणले हुन सकेन । कहाँ कमजोरी रह्यो भन्ने विषयमा समग्र समीक्षा गर्नुपर्ने अवस्था छ ।
तर त्यो समीक्षा गर्ने बेला अहिले होइन । अहिले कोरोनाकै कुरा छ । यसमा सरकारले लाइन राम्रै लिएको छ भन्ने धारणा छ ।
सर्वदलीय बैठकमा पनि पनि मैले केही कुरा राखेको थिएँ– हामीले रोकथामलाई नै बढी ध्यान दिनुपर्छ । नियन्त्रण र उपचारको तयारीमा पनि लाग्नुपर्छ भनेको थिएँ । सरकार त्यहीअनुसार अघि बढेको देख्छु । सरकारले सही समयमा लकडाउन गरेको हो भन्ने लाग्छ । त्यसले गर्दा यो महामारीलाई नियन्त्रण गर्ने कुरामा सफलै छौँ भन्ने लागेको छ ।
यति हुँदाहुँदै पनि केही कमीकमजोरी त भयो नै । कति कुराहरु बाहिर आए–औषधि उपकरण खरिदमा अनियमितताका कुरा जस्ता । काठमाडौंबाट जिल्लातिर जाने मदजुरका पनि समस्या देखिएको छ उनीहरुको बारेमा सरकारले जसरी सम्बोधन गर्नुपथ्र्यो त्यो हुन सकेन । खरिद प्रक्रियामा जति पारदर्शी हुनुपथ्र्योे त्यो हुन सकेन । त्योसँग सम्बन्धित विषय जति उठेको छ त्यसलाई गम्भीरतापूर्वक लिएकै छौँ ।
हामीले सचिवालयको बैठकमा पनि त्यो कुरा गम्भीर रुपमा छलफल गर्यौँ । प्रधानमन्त्रीले पनि यो कुरालाई गम्भीरतापूर्वक लिएको कुरा बताउनुभयो । प्रधानमन्त्रीले मैले कसैलाई छोड्दिन भनेर पनि भन्नुभएकै छ । हामीले त्यसलाई भरोसा गरेर अनुसन्धान पनि हुँदै जाओस् भन्ने छ । आजको दिनमा फेरि कोरोनाविरुद्ध आम जनता एक भएर अघि बढ्नुको विकल्प छैन ।
यसअघि लाभको पदमा हुँदा अनियमितता गर्नेलाई तत्काल फिर्ता गरिएको थियो । अहिले किन हुन सकेन त ? माथिसम्मै जोडिएको भएर हो ?
प्रधानमन्त्रीले म अनुसन्धानमै छु, दोषीलाई कारवाही गर्छु भनिसकेपछि हामीले त्योभन्दा बढी अहिले खोज्ने र सोच्ने कुरा उपयुक्त हुँदैन ।
तपाइँले सामाजिक सञ्जाल र मिडिया दैनिक हेर्छु भन्नुभएको छ । अहिले मजदुरहरु खुट्टामा घाउ हुन्जेल हिँडेको सरकारले किन नदेखेको होला ? वर्गीय विभेदका विरुद्धमा लडेको पार्टीकै नेतृत्वमा सरकार हुँदा पनि उनीहरुले न्याय पाएनन् नि !
पहिलो कुरा कोरोनाले विश्वव्यापीरुपमा मानवजातिमाथि आक्रमण गरेको छ । त्यसले न वर्ग विभेद गरेको छ न त जाति विभेद गरेको छ, न त राष्ट्र विभेद नै । यसले त समग्र मानव जातिमाथि नै आक्रमण गरेको छ । यो परिस्थितिलाई गहिरो गरी आत्मसात गर्न जरुरी छ । यसले नयाँ संश्लेषणतिर विश्वलाई लिएर जाँदैछ । अहिले तत्काल बढी मार खाने, बढी पीडा बेहोर्ने, क्षति हुने भनेको तल्लो वर्गका जनता नै हुन् । दैनिक ज्यालादारी गरेर खाने, त्यतिमात्रै होइन दैनिक ज्यालादारी गर्दा पनि छाक टार्न नसक्ने ठूलो संख्या छ ।
काठमाडौंमै त्यस्ता लाखौँको संख्यामा छन् । देशभरको त्यो वर्गलाई हामीले जिम्मेवारीका साथ हेर्नुपर्ने हुन्छ । उनीहरुलाई राहत दिन अलिक त सिष्टमको कुरा पनि हुँदो रहेछ । हामीकहाँ निम्नवर्गको परिचयपत्र बनाइएको छैन, भएको हुँदो हो त् अप्ठेरो परेको बेलामा त्यही कार्डका आधारमा सहयोग गर्न सकिन्थ्यो । त्यो नभएको हुनाले एउटा जटिलता हामीकहाँ छ ।
शनिबारमात्रै हामी दुईजना अध्यक्षले गम्भीर रुपमा कुराकानी त गर्यौँ । प्रधानमन्त्री पनि भित्रैबाट यस विषयमा चिन्तित भएको पाएँ । हामी एउटा समझदारीमा पनि पुग्यौँ । त्यसरी हिँडेर जाने जनतालाई घर पुर्याउने, जहाँ पुगेका छन् त्यहीँ खाने बस्ने व्यवस्था गरिदिने वा के गर्ने भन्ने बारेमा तुरुन्तै निर्णय गर्नुपर्छ भन्ने अवस्थामा पुगेका छौँ ।
तपाईँले कोरोनासँग जुध्न सबै सहभागी भएको एउटा उच्चस्तरीय संयन्त्र पनि आवश्यक छ भन्नुभएको थियो तर अघि बढ्न सकेन नि, किन ?
मैले राष्ट्रिय सहमति र समझदारीको अझ राम्रो वातावरण बनोस् र यो महामारीका विरुद्ध जुध्न आवश्यक शक्ति तयार होस् भनेरै भनेको थिएँ । मैले अहिले मात्रै होइन जहिले पनि भन्दै आएको छु । मैले भन्ने मात्रै होइन आफू प्रधानमन्त्री या प्रतिपक्ष दलको नेता भएको बेलामा पनि गरेर देखाएको छु । मैले प्रष्ट अघि बढेरै गरेको कुरा हो ।
साथीहरुलाई अहिले के गर्न खोजेको भन्ने लाग्यो । कसैका विरुद्ध यो नियोजित ढंगले गर्न खोजेको विल्कुलै थिएन । जस्तो बने पनि प्रधानमन्त्रीकै नेतृत्वमा हुनुपर्छ है नभए फेरि त्यो प्रभावकारी हुँदैन भनेको थिएँ । केही साथी र प्रधानमन्त्रीलाई सहज लागेन । सहज लाग्दैन भने मैले बनाउने कुरा पनि होइन, प्रधानमन्त्रीले धेरै दबाब ठान्न पर्दैन ।
कतिपयले यसलाई सरकार ढलाउने षडयन्त्रका रुपमा बुझे नि !
त्यो विल्कुलै गलत हो । सरकार ढलाउँछु भन्ने सोच्नु आफैँमा कुण्ठा मात्रै हो । त्यो हुनै सक्दैन ।
अहिले पार्टी र सरकारबीचमा केही द्वन्द्व देखिएको हो ?
पार्टीको अध्यक्ष नै प्रधानमन्त्री हुनुहुन्छ । पार्टीको नेताहरु नै मन्त्री हुनुहुन्छ । त्यसकारण प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार पनि यहाँ अन्तरविरोध हुनुपर्ने कुनै कारण होइन र छैन पनि । तर बीचबीचमा फेरि सरकारको काम कति प्रभावकारी भयो भन्ने कुराले पार्टीलाई र पार्टीको काम कति प्रभावकारी भयो भन्ने कुराले सरकारलाई असर त गरेकै हुन्छ । विवाद बेला बेलामा उठ्नु स्वाभाविक पनि हो । त्यस्तो विवाद बेला बेलामा बैठकमा उठ्ने पनि गरेका छन् । त्यसलाई समाधान गर्दै पनि लगेका छौँ ।
दुई अध्यक्षबीचको सम्बन्ध कस्तो छ ?
यो पार्टी एकतामा ल्याउनका लागि मुख्य भूमिका दुईजना अध्यक्षकै हो भन्ने कुरा तथ्यले पनि पुष्टि भएको कुरा भयो । पहलकदमीको हिसावले पनि दुईजना अध्यक्षको बीचमा समझदारी भएपछि केन्द्रीय कमिटीको बैठक राखेर टुंग्याइएको विषय हो । दुईजना अध्यक्षको सम्बन्ध भनेको धेरै नै संवेदनशील छ । अझ एकता महाधिवेशन नहुँदासम्म झनै संवेदनशील छ ।
दुईजना अध्यक्षको बीचमा छलफल राम्रो हुँदा पार्टी, सरकार र देश पनि राम्रोसँग जान्छ । दुईजना अध्यक्षको बीचमा अविश्वास भयो र आशंकाको स्थिति भए पार्टी, सरकार र देश पनि अप्ठेरोमा जान्छ । हामी शनिबार बसेर यो विषयमा गम्भीर समीक्षा पनि गरेका छौँ । हामी दुई अध्यक्ष मिल्नै नसक्ने ठाउँमा पुगेका छैनौँ ।