नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यादेशबाट सुरु भएको विवाद अहिले शक्ति बाँडफाँटमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईमा एक पद् छाड्नुपर्ने दबाब तिब्र बनेको छ । दबाबमा परेका ओलीले शक्ति बाँडफाँटका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ता थालेका छन् । नेता नेपालले ओलीलाई एक व्यक्ति एक पद् नीतिलाई लागू गर्न माग गरेका छन् ।
नेकपाको पछिल्लो विवादका विषयमा नागरिकखबरले ओली निकट स्थायी समिति सदस्य सत्यनारायण मण्डलसँग गरेका कुराकानीकाे सम्पादित अंश :
नेकपाको विवाद कसरी समाधान हुँदैछ ?
नेकपामा अहिले देखिएको विवाद भनेको अप्राकृतिक हो । पार्टी भित्र देखिएको कृत्रिम विवाद हो । पार्टीमा विवाद नै आएको छैन ।
मेरो ठाडो शब्दमा भन्ने हो भने पदका भिखारीहरुले यो वितण्डा मच्चाउन खोजेका हुन् । यो सरकार बन्नुभन्दा अगाडि नै असन्तुष्टि थिए । अहिले किन बिरोध भइरहेको छ ?
स्थायी समिति बैठक अहिले किन नबस्ने त ? पार्टीमा छलफल गरेर समाधान गर्दा सजिलो होला नि ?
यो विवादको समाधान मैले केही पनि देख्दिन । अब स्थायी कमिटीको बैठक बोलाएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता गुमायो भनेर राजीनामा देऊ भन्न सक्छन् ।
अहिले सरकारलाई कसले सहयोग गरेको छ ? जहिले पनि पार्टीभित्रैबाट बखेडा मात्र झिकेको छ । अरु नेता चोखो, केपी ओली मात्र भ्रष्ट हो ? अर्को कुरो अहिले यो मुलुकलाई अस्थिरतामा लाने सबभन्दा ठूलो भूमिका नेकपा भित्रकै छन् । म विपक्षीहरुलाई दोष दिन्न । त्यो भन्दा ठूलो भूमिका नेपाली सञ्चारमाध्यमको पनि छ । मिडिया पनि लागेको छ ।
मिडियाले नेकपामा विवाद बढाइदिएको हो त ?
नेकपामा मत्र होइन । बामदेव गौतमले केपी ओलीसँग कुरा गरेकोमा ‘अनेक कुरा भयो रे ! चर्का चर्की भयो रे ! बामदेवले राजीनामा गरे रे ! हातले नै लेखेर राजीनामा गर्नु भयो रे !’
मिडियाले के गर्न खोजेको ? नेपाली आमा प्रति, नेपाली माटोप्रति नेपाली मिडियाको इमान्दारिता छैन । बिलकुल छैन । बैठकमा एउटा कुरा हुन्छ । प्रचार अर्को कसरी हुन्छ ?
स्थायी कमिटी बैठक बोलाएर छलफल गर्दा के बिग्रिन्छ ?
अहिले स्थायी कमिटी बैठक बोलाउनु पर्दैन् । अहिले कोरोनाको त्रास छ । सबै स्थायी कमिटीका सदस्यहरुको काठमाडौंमा घर छैन । हाम्रो गाउँमा पनि खासै घर छैन ।
स्थायी कमिटीको बैठक बोलाएर अहिले हामी कसरी जाने ? जे मन लाग्यो त्यहीँ गरेर हुन्छ ? अहिले स्थायी कमिटीको बैठक बोलाउनु हुँदैन् । यो कोरोना अवधिभर बैठक बस्नु हुँदैन ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीको राजीनामा पनि माग्न थालियो नि ?
प्रधानमन्त्रीजीले राजीनामा दिनु पर्दैन । नेपाली समाजको निर्माण कसरी भयो र नेपाली समाजको आर्थिक अवस्था के हो ? अहिले भ¥याङ नभएका चार तले घर छन् । जसका छन्, ती महापापीहरु छन् । यी माक्सवादका उपज हुन् । महापण्डीतजी छन् ।
अहिले यो देशमा केपी ओली नभएको भए कम्युनिस्ट पार्टीलाई नेपाली जनताले यो सम्मान दिँदैन थियो । जसलाई नेपाली जनताले सम्मान ग¥यौँ उसैलाई नैतिकताको पाठ पढाइन्छ ?
पूर्वीय समाजको संरचना भनेको हिन्दु वर्णवादी व्यवस्था हो । सीताको कुन अपराध थियो ? सीतालाई रावणले किन चोरेर, अपहरण गरेर लग्यो ? रामले किन अग्नि परीक्षा लिए । रामले किन सीतालाई जिम्मा लिए ? राममाथि नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ? अहिलेको विवाद त्यस्तै हो ।
महाभारतमा द्रोपतीको के अपराध थियो ? एउटाले वस्त्रहरण गर्छ ? अर्कोले जुवा खालमा राखेर हार्छ ? कहाँ छ, नैतिकता ? मेरो विचारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्न, दिनु पर्दैन् । राजीनामा भनेको नेपाली जनताको घाँटीमा तरबार चलाउनु हो ।
प्रधानमन्त्रीले गुटगत र एक पक्षीय तरिकाले सरकार चलाएपछि कसरी शक्तिबाँडफाँटको कुरा आएको हो नि होइन र ? गुटगत कुराले प्रश्रय पाएकाले भन्ने लाग्दैन ?
नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गुट छैन र ? नारायणकाजी श्रेष्ठको गुट छैन ? जनार्दन शर्माको गुट छैन ? हरिबोल गजुरेलको गुट छैन ? माधवकुमार नेपालको गुट छैन ? झलनाथ खनालजीको गुट छैन ? बामदेव गौतमजीको गुट छैन ? २०५४ सालमा बामदेवजीले पार्टी फुटाउँदा मैले बामदेवलाई नै साथ दिएको थिए । किन विगतमा यस्तो भएको त ? हामी किन मिल्यौँ ?
तपाईँले त फेरि रहनु हुँदोरहेछ नि होइन ? फाइदा कै लागि त होला ?
म ओली गुटको नजिक होइन सत्यको नजिक छु । कसैले घमण्ड गर्नुपर्दैन । हजारौँ मान्छे मारेर र बमबारुदसँग खेलेर समाजमा आतंक मच्चाएर राज्य गर्नेहरु ओलीले पार्टी फुटाउन लाग्यो भन्दै छन् ।
केपी ओलीले पार्टी कसरी फुटायो ? ओलीले पार्टी फुटाएको भए, झापा आन्दोलनदेखि कतिवटा समूहलाई एकीकृत गरेर ल्याउनु भयो ।
अध्यादेश ल्याएको त आफ्नै पार्टी फुटाउन थियो नि होइन ?
त्यो बारेमा भन्न पनि मिल्दैन ।
त्यसो भए मधेसवादी दलहरु फुटाउनको लागि थियो त ?
विगतमा तराईका दलहरुलाई दिएको मतको कहिले सम्मान भयो ? ओलीको विरोध गर्नेहरु वेइमानहरु हुन् । स्थायी कमिटीको बैठक पनि बोलाउनु पर्दैन् । प्रधानमन्त्री ज्यूले राजीनामा पनि दिनु पर्दैन् । जो पत्रकारले सोधे पनि मैले यही भन्ने गरेको छु ।
समाजवादी पार्टी फुटाएर प्रदेश २ मा तपाँईलाई मुख्यमन्त्री बनाउने तयारी थियो । त्यसैले यसमा तपाईँ पनि त्यसमा जोडिनु भएको थियो होइन ?
छैन् । हैट कहाँ त्यस्तो होला ? यो नेपाली मिडियाले बनाएको हो । एउटा सरकारले देश चलाउनको लागि जे पनि मिलाउन सक्छ । त्यो डेमोके्रसी र बहुदलीय व्यवस्थाको सुन्दर पक्ष पनि हो । त्यसको विरोध राजनीतिक दलका नेताले गरे अनि जनताबाट पनि विरोध भएपछि प्रधामन्त्री ज्यूले अध्यादेश फिर्ता लिनु भयो । तानाशाही व्यवस्था भएको भए फिर्ता हुँदैन थियो । अनि नैतिकताको कुरा कसरी आउँछ ?
तपाईँकै पार्टीभित्रकालाई पाखा लगाउने, पेल्ने काम भएपछि पार्टीभित्रैबाट तानाशाही जस्तो हुन थाल्यो भन्नु त स्वभाविक हो नि ?
सुन्नुहोस् । १०/२० जना नेताले भन्दैमा तानाशाही व्यवस्था आउँदैन । यो मिडियाको खराब नियत हो । मिडियाहरुले गलत प्रचार प्रसार गरेका छन् । ओलीको सहयोगमा तानाशाही व्यवस्था लागू हुँदैन । स्थायी कमिटीको बैठक नि आवश्यकता छैन् । प्रधानमन्त्री ओलीले राजीनामा पनि दिनु पर्दैन ।