बामदेवका लागि सांसद पद छाड्न तयार छु : सांसद अधिकारी
शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक जना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि कास्कीको निर्वाचन क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले राजीनामा दिने चर्चा चलेको छ।

उनले सांसद पदबाट राजीनामा दिए गौतमलाई उपनिर्वाचनमार्फत् सांसद बन्न मार्ग खुल्ने छ। तर, उनलाई सांसद बन्न सजिलो भने हुने छैन। बर्दियाका जनताले नचाहेका उनलाई कास्कीका जनताले पनि नचाहन सक्छन्। त्यसो त अहिले नेकपाको लोकप्रियता पनि घट्दै गएको छ।

फेरि, उनको यसअघि नै सांसद बन्न पटक-पटक गरेको प्रयास असफल भएकै हो। सुरूमा डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर सांसद बन्न चाहेका उनले त्यसपछि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराउन खोजेका थिए। यसरी दुवै प्रयास अन्ततः असफल भएपछि हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका तत्कालीन सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्रबाट निर्वाचन लड्न चाहेका थिए। उक्त प्रयास पनि सफल भएन।

अहिले पुनः कास्की-१ का सांसद अधिकारीले राजीनामा दिने चर्चा चलेको छ। यसरी बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन सांसद अधिकारीले के स्वेच्छिक राजीनामा दिन चाहेका हुन् या पार्टीको ‘हाइ कमान्ड’ को दबाब थेग्न सकेनन्? वा बामदेवका लागि राजीनामा दिन चाहनुको रहस्य के हो त? यी लगायत नेकपाभित्र देखिएका वर्तमान विवादका विषयमा केन्द्रित रहेर सांसद अधिकारीसँग नेपालन्युजले गरेको कुराकानीको सम्पादित अंशः

पार्टी उपाध्यक्ष बामदेव गौतमका लागि तपाईं राजीनामा दिन तयार हो?

उहाँलाई प्रधानमन्त्री बनाउनका लागि अन्य उपाय पनि छन्। ती उपायमध्ये मेरो राजीनामा पनि एउटा उपाय भनेको हुँ।

पार्टीको ‘हाइ कमान्ड’ ले राजीनामा दिनू भन्यो भने तयार हुनुहुन्छ?

म तयार हुन्छु। पार्टी एकता, जनताको हित र मेरा मतदाताको ‘म्यान्डेट’ भयो भने म छोड्छु।

दबाब आएर राजीनामा दिन तयार हुनुभएको हो?

मैले स्वेच्छाले नै भनेको हुँ। किन दबाब भन्नु? एउटा व्यक्ति सांसद बन्नका लागि संविधान संशोधन गर्नु राम्रो हुँदैन। पार्टी बद्नाम हुन्छ। त्यसो गर्ने होइन। त्यसकारणले यसका अरू उपाय अपनाउनुपर्छ भन्ने मेरो मान्यता हो। म प्रस्ट छु। अहिले संविधान संशोधनको बेला पनि भएको छैन। संविधान त अहिले कार्यान्वयनको बेला छ। त्यसकारण, राष्ट्रियसभाको सदस्य संविधान संशोधन गरेर प्रधानमन्त्री हुने प्रावधान राख्नु हुँदैन।

बर्दियामा गौतमको निर्वाचन क्षेत्रका जनताले त उनलाई हराए। यो भनेको त त्यहाँका जनताले नचाहेको भन्ने भयो नि, होइन र?

उहाँ थोरै मतले सफल हुन नसक्नु भएको हो।

तपाईंलाई त कास्की-१ का जनताले विश्वास गरेर जिताए। अब तपाईंले राजीनामा दिएर बामदेव गौतमलाई निर्वाचन लडाउँडा जित्ने आधार रहला त?

पहिलो कुरा त म जनताको मतको सम्मान गर्छु र जीवनभर जनताको सेवामा समर्पित भइरहन्छु। यो कुरा प्रस्ट छ। र, जनताको पहिलो कुरा ‘म्यान्डेट’ चाहियो। अनि कार्यकर्ताको चाहियो। अनि जनसमुदायले के राम्ररी बुझेका छन् भने बामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी माले (भूमिगत कालको माले) बनाउन कास्कीमा पहिलो इलाका कमिटिको सचिव हुँदै जिल्ला कमिटिको सङ्गठन कमिटि सचिव, गण्डकी-धौलागिरी पश्चिम-उत्तर क्षेत्रीय कमिटिको सचिव भएर उहाँले काम गर्नुभएको हो।

त्यहाँका जनतालाई राम्ररी थाहा छ। म पहिले पुष्पलाल समूहमा थिएँ। त्यहाँबाट भूमिगत माले समूहमा ल्याउनुभएको बामदेव गौतमले हो। त्यहाँका जनतालाई यो पनि थाहा छ। यसकारण, बर्दिया, प्युठान र पोखरा उहाँले काम गरेकै क्षेत्र हो। त्यो म स्मरण गराउन चाहन्छु।

जनतालाई आफ्नो मतको अपमान भयो भन्ने हुँदैन?

त्यो अपमान हुन त म दिँदै दिन्नँ। जनमतको सम्मान किञ्चित पनि खण्डित हुन दिन्नँ। मेरो मनशाय र आशय पनि त्यो होइन। तर, देश र जनतालाई एकताको सुत्रमा बाँध्ने महान काम हुन्छ भने त्यसमा म अडिरहनु परेन भन्ने हो।

तपाईंले त कास्की-१ का जनतासँग ५ वर्षे समृद्धिको प्रतिबद्धता जनाएर मत प्राप्त गर्नुभएको हो नि? अहिले राजीनामा दिने भन्दा हुन्छ?

त्यो ५ वर्षे प्रतिबद्धता त कुनै पनि हालतमा बाहिर रहौं वा सांसद रहौं, मेरा प्रतिबद्धताहरू पूरा गर्न निरन्तर लागिरहन्छु।

अनि खास के छ र बामदेव गौतममा प्रधानमन्त्री नभई नहुने चाहिँ?

उहाँमा के छैन र? त्यो प्रश्नै होइन नि। उहाँमा सबै थोक छ।

देशलाई समृद्दिको लयमा अगाडि बढाउने क्षमता छ?

छ।

तर, उपप्रधान तथा गृहमन्त्री हुँदासम्म त्यस्तो जयजयकार गर्ने अथवा सम्झनालायक काम त केही भएन नि उनको कार्यकालमा। बरू विवादित काम गरेर चर्चामा आए।

त्यसबारे मैले मूल्याङ्कन गर्ने होइन। र, तपाईंले आफ्नो पाटोबाट मूल्याङ्कन गर्नुभयो। त्यो ठीकै छ। मूल्याङ्कन समग्र पाटोबाट गर्नुपर्छ। आँखा नदेख्नेले हात्ती छाम्दा नाङ्लोजस्तो पनि भन्छ, कसैले के जस्तो पनि भन्छ। समग्र छामेर पत्ता लगाउने हो। त्यसैले आँखा देख्ने भएर मूल्याङ्कन गरौं। तपाईंले भनेको पनि होला। तर, समग्र पाटोको कुरा गरौं।

हिजो प्रधानमन्त्री भइसकेकाहरूसँग अहिलेको प्रधानमन्त्रीसँग तुलना हुँदैन। र, सबैभन्दा राम्रो कुरा प्रधानमन्त्रीलाई निरन्तरता दिनु नै उत्तम हुन्छ। उहाँलाई चौतर्फी घेराबन्दीमा पारिएको छ। पार्टीभित्र पनि र बाहिर पनि। उहाँलाई त्यस्तो घेरामा राख्न खोजियो। त्यसले गर्दा उहाँको हात खुट्टामा हिजो जेलमा रहँदा पञ्चायती सरकारले हत्कडी लगाएर राखे। त्यस्ता त्यागी प्रधानमन्त्रीको हरेक काममा ठेस लगाउने काम भएको छ।

त्यो काम नै पहिलो कुरा त गलत हो। वर्तमान सरकारको निरन्तरताको विकल्पै छैन। सबभन्दा उत्तम विकल्प यही हो। त्यसमा प्रस्ट छु। अब, विकल्पै खोज्नुपर्‍यो भने त, ज-जसले खोज्नुभयो, उहाँहरूको पनि त त्यस्तै हो।

उहाँहरूले पनि खास त्यस्तो केही गर्नुभएको छैन। अहिले केपी ओलीलाई काम गर्न नदिनु भनेको त मुलुकलाई बाधा पुर्‍याउनु हो। संविधानलाई बाधा पुर्‍याउनु हो। विकासलाई बाधा पुर्‍याउनु हो। अस्थिरताका पक्षधरहरूलाई सहयोग पुर्‍याउनु हो। मुलुकलाई विखन्डन गर्न चाहनेहरूलाई सहयोग पुर्‍याउनु हो। मुलुकमा युगौंदेखि एकता नचाहने अन्तर्राष्ट्रिय शक्तिहरूलाई मद्दत पुर्‍याउनु हो।

तर, अब यस्तै परिस्थिति रह्यो भने अब सिनियर लिडरमध्ये प्रधानमन्त्री हुन बाँकी त बामदेव गौतम नै हो। प्रधानमन्त्री ओलीबाट उहाँलाई नै प्रधानमन्त्री बनाऔं भन्ने प्रस्ताव आयो। अब, पार्टीले र त्यहाँका मेरा मतदाताले स्वीकार गर्छन् भने म राजीनामा दिन तयार हुनुपर्छ भन्ने कुरामा म प्रस्ट छु।

तर, सांसदहरू रामवीर मानन्धर र धनबहादुर बुढालाई राजीनामा गराउने प्रयास गर्दा जनताबाट आलोचित हुनुपर्‍यो उहाँ। उपनिर्वाचनमा स्वर्गीय रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट लडाउन कुरा मात्रै गर्दा पनि फेरि आलोचना खेप्नुपर्‍यो। अब, तपाईंले राजीनामा दिँदा पनि त्यस्तै आलोचित हुनुपर्‍यो पर्ने होला नि?

म उहाँहरू जस्तो मान्छे होइन। उहाँहरूको भन्दा मेरो फरक खालको राजनीतिक इतिहास छ। म २०२९ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएको हुँ। २०३२ सालदेखि पार्टीको सदस्य हुँ। २०३६ सालदेखि पूर्णकालीन कार्यकर्ता हुँ। म २०५१ सालमा सांसद भएको हुँ। पार्टीको सचेतक हुँ। मन्त्री भइसकेको मान्छे हुँ। अनि, अहिले प्रतिनिधिसभामा छु। अनि, प्रमुख सचेतक भएर काम गरेको मान्छे हुँ। लोभ लालच भएर फलानो पद दिनु भन्ने खालको मान्छे होइन नि म। उहाँहरू म भन्दा महान हुनुहोला। तर, उहाँहरूको र मेरो प्रक्रिया फरक हो। त्यता विषयमा प्रवेश नै नगरौं।

अनि तपाईंले राजीनामा दिँदा अनादर हुँदैन मतदाताको?

हुन्छ नि किन नहुनु? त्यही भएर मतदाताको कदर नगरिकन यो कुरा गर्नै हुँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर