काठमाडाैं, वैशाख २० : अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनित चलचित्र ‘झ्यानाकुटी’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज भएको झण्डै साढे दुई वर्षपछि चलचित्रलाई युट्युबमा रिलिज गरिएको हो ।
लकडाउनका कारण घरमा थुनिएर बसेका दर्शकलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस चलचित्रलाई दर्शकको राम्रो साथ मिलेको छ। रिलिज भएको २४ घण्टा नबित्दै चलचित्र युट्युब ट्रेन्डिङको शीर्ष एकमा आइसकेको छ ।
चलचित्रमा २३ सयभन्दा बढी प्रतिकृया आइसकेको छ। जहाँ चलचित्रलाई दर्शकले खुबै रुचाएका छन् । सौगात र बेनिशाको काम उत्कृष्ट भएको दर्शक प्रतिकृया छ ।
अभिनेत्री निशा अधिकारीले निर्माण गरेको यस चलचित्रले हलमा भने दर्शकको उत्साहजनक साथ पाएको थिएन । चलचित्रले हलबाट आफ्नो लगानी सुरक्षित गर्न सकेको थिएन ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको यस चलचित्रमा सुमि मोक्तान, जीवन भट्टराई, पुष्कर गुरुङ लगायतको अभिनय रहेको छ । प्रदीप भारद्वाजले लेखेको चलचित्रलाई हरी हुमागाईंले खिचेका हुन् ।